काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस ४ व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो ।


ADVERTISEMENT


गत कात्तिक २४ गते सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


नेपालको संविधानको धारा २९२ मा नियुक्तिपूर्व राजदूतहरुको सिफारिस संसदीय सुनुवाइ समितिमा हुनुपर्ने व्यवस्था छ । यही प्रावधान अनुसार, प्रक्रिया थाल्न समितिले उजुरी मागेको हो ।

राजदूतमा सिफारिस व्यक्ति नियुक्तिका लागि अयोग्य लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी पेश गर्न समितिले आह्वान गरेको छ ।

मंसिर १७ गते कार्यालय समयभित्र पहिचान खुलाएर उजुरी दिन सकिने छ । उजुरीकर्ताले चाहेमा पहिचानसमेत गोप्य राखिने भएकाले ढुक्क भएर उजुरी गर्न समितिले सबैमा आग्रह गरेको छ ।

समितिको कार्यालयमा सोझै उपस्थित भएर तथा फोन,इमेल र फ्याक्समार्फत् उजुरी दिन सकिने व्यवस्था समितिले मिलाएको छ ।