काठमाडौँ– यही २२ गतेदेखि काठमाडौँमा सुरु हुने तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा स्टकल्याण्डका कप्तान केल कोएट्जरले खेल्ने भएका छन् ।


ADVERTISEMENT


कोएट्जरलाई पोखरा राइनोज अनुबन्धित गरेको हो । एक विज्ञप्ती जारी गर्दै पाखराले उनको आगमनले टोलीमा ठूलो बल पुग्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


‘स्कटल्यान्ड र नेपालले यसै वर्ष विश्वकप छनोटमा निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो । त्यसयता मलाई नेपाली राष्ट्रिय टोलीसँग खेल्न इच्छा लागिरहेको थियो । पोखरा राइनोजलाई यस अवसर जुराइदिएकोमा धन्यवाद दिँदै नेपालमा खेल्नका लागि म व्यग्र छु,’ पोखराको विज्ञप्तिमा कोएट्जरले भनेका छन् ।

को हुन् कोएट्जर ?

स्टकल्याण्डको राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हालिरहेका ३४ वर्षे कोएट्जरले स्कटल्यान्डबाट ५० वान–डे अन्तर्राष्ट्रिय र ४५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनीसँग ९४ प्रथम श्रेणीको खेल खेलेको अनुभव पनि छ ।

गत मार्चमा जिम्बावेमा भएको विरुश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा कोएट्जरले नेपालविरुद्ध अविजित ८८ रन बनाउँदै स्कटल्यान्डलाई ७ विकेटको जित दिलाएका थिए ।

यसअघि नै पोखराले मुख्य प्रशिक्षकमा अष्ट्रेलियका नाथन डोडलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरिसकेको छ । मंसिर २२ गतेदेखि १५ दिन चल्ने प्रतियोगितामा पोखरासहित काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर र चितवन टाइगर्स गरी कुल ६ टिमले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन् ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।

गत वर्ष पारस खड्का नेतृत्वको विराटनगर किंसले शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स्लाई एक रनले हराउँदै प्रतियोगिताको उपाधी जितेको थियो ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएकाले स्टार विदेशी खेलाडीलाई समेत देख्न सकिनेछ ।

प्रतियोगिताको यस सिजनमा टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, युएईका कप्तान रोहन मुस्ताफा र मोहम्मद नाभिद, हंगकंग खेलाडी बाबर हायात तथा इंग्ल्याण्ड यु–१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले सहभागिता जनाउने तय भइसकेको छ ।