मुसिकोट– जाजरकोट–डोल्पा जोड्ने मुख्य सडक खण्डअन्तर्गत रुकुम पश्चिमको राडीज्यूला चल्ने सवारीसाधनले यात्रुबाट तोकिएका भन्दा बढी भाडा असुलेका छन् ।


ADVERTISEMENT


चाडपर्वको मौका छोपेर जाजरकोटको रिम्नादेखि राडीज्यूलासम्मको सडक खण्डमा तेब्बर भाडा उठाउँदै यात्रुलाई ठग्ने गरिएको छ । मापदण्डविपरीत यात्रुबाट तेब्बर भाडा असुली गर्दा यस क्षेत्रमा आवातजावत गर्ने यात्रु मर्कामा परेका छन् ।


ADVERTISEMENT

# # #


जाजरकोटको रिम्नादेखि राडीज्यूलासम्मको भाडा रु ३५० कायम गरिए पनि यात्रुबाट तेब्बर भाडा असुली हुने छ । दशैँ तिहारको बेला यात्रुको सङ्ख्या बढ्ने भएकाले यहाँको रिम्ना, छेपारे, बाँकेज्यूला, चिसापानी र राडीज्यूलालगायतका ठाउँमा पुग्ने यात्रुबाट बढी भाडा लिने गरिएको छ ।

केही दिनअघि मात्र दशैँ मनाउन घर हिँडेका आठबिसकोट नगरपालिका–१३ का मनिराम पुनले तेब्बर भाडा तिर्नुपरेको गुनासो सुनाएका छन् । उनले रिम्नादेखि बाँकेज्यूलासम्मको भाडा १५० तिरेको जानकारी दिए तर यहाँसम्मको बसभाडा रु ५० मात्र कायम गरिएको छ । दिनहुँ तीसभन्दा बढी ठूला तथा साना सवारीसाधन ओहरदोहर गर्ने यो सडक खण्डमा सयौँ यात्रुहरू दिनप्रतिदिन ठगिँदै आएका छन् ।

पछिल्लो समय रिम्नादेखि जाजरकोटको पश्चिमी क्षेत्र, रुकुम पश्चिम र डोल्पासम्म पुग्नका लागि जिल्ला बाहिरबाट आउने नयाँ यात्रु बढी ठगिने गरेका छन् । यात्रु ठगिँदासमेत सम्बन्धित निकायले यसतर्फ कुनै ध्यान नदिएको यात्रुको दुःखेसो छ ।

डोल्पा जोड्ने गरी रुकुम पश्चिम र जाजरकोटको रिम्नास्थित पक्की पुल गत वर्षबाट सञ्चालनमा आएपछि यो सडक खण्डमा चल्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा उठाउँदै आएका छन् ।

हाल आठबिसकोट राडिज्यूलाबाट नेपालगञ्ज, सुर्खेत, दाङ, काठमाडौँलगायत देशका मुख्य शहरमा दिवा तथा रात्री बस सञ्चालनमा रहेका छन् । त्यस्तै रुकुम पश्चिम र जाजरकोटका धेरैजसो ग्रामीण क्षेत्रमा चल्ने सवारीसाधनले यात्रुसँग मनपरी भाडा लिने गरेका छन् । रासस