काठमाडौँ– नेकपा एमाले महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय गर्दा कांग्रेसले सत्तारुढ माओवादी केन्द्र र राजपालाई पनि झुक्याएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले २ नम्बर प्रदेशमा पनि कांग्रेस कमजोर निष्कर्षमा पुगेपछि चुनाव सारिएको आरोप लगाए । ‘राजपालाई त प्रयोगमात्रै गरिएको हो,’ उनले भने, ‘माओवादीलाई पनि झुक्याइएको छ ।’


ADVERTISEMENT

# # #


पोखरेलले राजपाले समेत चुनाव सार्ने निर्णयमा विमति जनाएको र निर्वाचन आयोगले सहमति नगरेको उल्लेख गरे । ‘प्रतिपक्षीलाई त सेयरिङसमेत गरिएन,’ उनले भने, ‘कांग्रेसको आन्तरिक बैठकले २ नम्बर प्रदेशमा हारिने निष्कर्ष निकालेपछि चुनाव सार्ने निर्णय भएको हो ।’

महासचिव पोखरेलले कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसका केही नेताको प्रायोजित आवाज अघि सारेर निर्वाचनलाई मजाकको विषय बनाइएको बताए । ‘यो निर्णय अलोकतान्त्रिक, संविधान र निर्वाचनको मूलभूत मान्यताविपरीत छ,’ उनले भने ।

पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको विगत पनि जननिर्वाचित संस्था विघटन गर्ने रहेको उल्लेख गर्दै अहिले पनि तोकिएको समयमा तीनै तहको चुनाव नगरेर देउवाले राजनीतिक अस्थिरता निम्ल्याउने क्रमको सुरुवात गरेको आरोप लगाए ।

अर्को प्रसंगमा पोखरेलले विराटनगर महानगरपालिकामा अन्य राजनीतिक दलसँग तालमेल गर्नका लागि उपमेयरको उम्मेदवार नउठाएको बताए । ‘सम्भावित पक्षहरुसँग हामी संवादमै छौं,’ उनले भने ।