काठमाडौं– नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ ।


ADVERTISEMENT


हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ । ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो । म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ ।’


ADVERTISEMENT

# # #


नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए। सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ। नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए । ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न । सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन ।’ – आजको कान्तिपुर दैनिकबाट