धनगढी– प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ । बिभिन्न स्थानबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको सममा चलेका छैनन् । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ ।


ADVERTISEMENT


मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन् । उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ ।


ADVERTISEMENT

# # #


बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ–ठाउँमा परिचालन गरिएको छ । प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय बहुमतका आधारमा गरिएको थियो ।

आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । आन्दोलनको नेतृत्वकर्ता स्थानीय कांग्रेस नेता हरि रेग्मीले भने, ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएकाले हामीलाई मान्य छैन ।’

प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।