काठमाडौँ– राष्ट्रकवि माधव प्रसाद घिमिरेले सयौँ वर्ष पुगेका छन् । विक्रम सम्वत १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेले आज सयौं जन्मजयन्ती मनाएका हुन् ।


ADVERTISEMENT


सो अवसरमा उनी लैनचौरस्थित आफ्नै निवास परिशरमा आज विहान आयोजित विशेष पूजामा सरिक भएका थिए । सो अवसरमा शताब्दी वर्ष लागेका राष्ट्रकवि घिमिरेले शुभचिन्तकको माया र सद्भावका कारण आफूले अझै जवान महशुस गरेको प्रतिक्रिया दिए । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि घिमिरेको निवासमै गएर शुभकामना दिएकी थिइन् । राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् ।


ADVERTISEMENT

# # #


यस्तै कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी लगायतले घिमिरेको घरमै गएर जन्मदिनको शुभकामना दिएका थिए ।

विसं २००४ मा पत्नी गौरीको निधनपश्चात २००५ मा उनले महाकाली घिमिरेसंग दोस्रो विवाह गरेका थिए । घिमिरेकी अर्धाङ्गिनी महाकाली घिमिरे पनि यही असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दैछिन् ।

आफु सय वर्ष बाँच्नुको रहस्य खाल्दै राष्ट्रकवि घिमिरे लक्ष्य र स्वास्थ्यलाई कहिल्यै बिर्सनु नहुने बताए । उनले भने, ‘मान्छेले जीवनमा म यस्तो बन्छु भनेर रोज्नुपर्छ। दुःख पाए पनि सुख पाए पनि मर्नु परे पनि लक्ष्य नछोड्नू’, उनले भने, ‘ कविहरुका कविता सुनेपछि जीवनमा म कवि बन्छु भन्ने लाग्यो। हरेक कुरा छोडेर म कविता लेख्न थाले। कविताका निम्ति समर्पित भएँ। मैले लक्ष्य निर्धारण गरे र समर्पित भएँ।’

राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । पत्नी वियोगमा लेखिएको गौरी शोककाव्य उनको निकै नै चर्चित कीर्तिमध्येको एक मानिन्छ । उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् ।

राष्ट्रकवि घिमिरेले पद्यश्री साधना सम्मान, नेपाली सेनाको मानार्थ सहायक रथी, मानार्थ विद्यावारिधि लगायतका विभिन्न सम्मान पाएका छन् ।

बढ्दो उमेरका कारण केहि स्वास्थ्य समस्या देखिए पनि राष्ट्रकवि सक्रिय जीवन व्यतीत गरिरहेका छन् । अहिले पनि उनी महाकाव्य ‘ऋतम्भरा’लाई अन्तिम रुप दिने तयारीमा रहेका छन् । पछिल्लो समय बिरामी परेर रोकिएको ऋतम्भरालाई अर्को वर्षसम्म पूरा गर्ने राष्ट्रकविको भनाइ छ ।

राष्ट्रकै साहित्यिक गहना भएकाले उनको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उनको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ । घिमिरेको जन्मशताब्दी मनाउन उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरिएको छ । रथारोहण कार्यक्रम प्रधानमन्त्री केपी शर्माओलीको उपस्थितिमा यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

तस्बिरहरु : रासस