काठमाडौं– ठगीको आरोपमा उजुरी परे पनि लामो समयसम्म फरार रहेका प्यूठानका रकमबहादुर खत्री पक्राउ परेका छन् । हिजो न्युज २४ टेलिभिजनले पावर न्युज कार्यक्रममा उनीबारेको उजुरी तथा घटनाक्रमबारेको विशेष रिपोर्ट प्रशारण गरेको थियो । त्यसलगत्तै उनी पक्राउ परेका हुन् ।


ADVERTISEMENT


प्युठान झिम्रुक गाउँपालिका २ का वडाध्यक्ष बलदेव महतराले आरोपी खत्रीलाई नियन्त्रणमा लिइ इलाका प्रहरीको जिम्मा लगाइएको जाकारी दिएका छन् । खत्रीबिरुद्ध रेकमबहादुरले पुर्कोटदहका ७८ वर्षीय ज्ञानबहादुर घर्ती, प्युठान वादीकोटका देवबहादुर घर्र्ती, मलागिरीकी सिता खत्री लगायत दर्जनौंलाई झुटा तमसुक बनाएर ऋण दिने र फसाउने गरेको आरोप छ ।


ADVERTISEMENT

# # #


रकमबहादुरले गाउँका सोझासीधा व्यक्तिलाई थोरै पैसा दिएर धेरै रकमको तमसुक बनाउने अनि जबरजस्ती असुल्ने, रकम असुल्न नसके बन्धकी राखेको घरजग्गा आफ्नो बनाउँदै वर्षौदेखि यस्तो कुकर्म गदैँ आएका छन् ।

गुल्मी घिउपानीकी ७८ वर्षीय ज्ञानबहादुर घर्तीलाई रेकमबहादुरले ६ हजार रुपैयाँ दिए, घरजग्गा बन्दकी राखेर । तर, निरक्षर घर्तीलाई १० लाखको तमसुकमा सहिछाप गराइयो । र, पैसा दिएको केही समयपछि रेकमबहादुरले करिब १० लाख मूल्य बराबरको घर्तीको घरजग्गा आफ्नै नाममा पारिसकेका रहेछन् । रेकमबहादुरले गत भदौ ५ गते मालपोत कार्यालयमा गएर ज्ञानबहादुरको जग्गा आफ्नो नाममा पास गरेको प्रमाण भेटिएको छ । खत्रीले जालसाजी गर्न खोजेको सूचना पाएपछि ज्ञानबहादुरकी बुहारी गीता घर्तीले जग्गा पास रोक्न ओजिन्, तर सकिनन् ।

छोरा–बुहारीसँग छुट्टिएर बसेका ज्ञानबहादुरलाई गुल्मी पुर्कोटदहका चिन्तबहादुर कुँवर र ताकमान थापाले रेकमबहादुरको कुकर्मलाई सहयोग गरेका थिए । उनीहरु तमसुकमा साक्षी मात्रै बसेनन, घर्तीलाई तम्घास ल्याउन र जग्गा पास गराउन सक्रिय भए । तर, उनीहरु रेकमबहादुर र ज्ञानबहादुरको ‘लेनदेन’ थाहा नभएको र दुबैको भनाइका आधारमा मात्रै हस्ताक्षर गरेको जिकीर गर्छन् ।

ज्ञानबहादुरलाई चोरबाटो हुँदै तम्घास रेकमबहादुरले प्रशस्त मादक पदार्थ पिउन लगाएर तमसुकमा जबरजस्त औठाछाप लगाएका थिए । ज्ञानबहादुरको कित्ता नम्बर २०४ को जग्गा दृष्ट्रिपास गराइएको हो । ज्ञानबहादुरलाई मालपोतका कर्मचारीले सोधे १० लाखमा जग्गा पास गरिदिएको भन्न लगाइएको थियो ।

सालझण्डी ढोरपाटन सडक छेउको महंगो मूल्य पर्ने जग्गा रेकमबहादुरले जालसाजी गरी आफ्नो बनाएपछि घर्ती परिवारको विचल्ली भएको छ । ज्ञानबहादुर मात्रै होइनन्, उक्त क्षेत्रका थुप्रैले थोरै पैसा दिएर धेरै पैसाको तमसुक बनाई पनि रेकमबहादुरले जबरजस्त असुलेको गुनासो गरेका छन् ।

प्यूठान वादीकोटकै देवबहादुर घर्तीलाई रेकमबहादुरले पोहोर ५० हजार रुपैयाँ ऋण दिएका थिए । देवबहादुरले बीचमा एकपटक ३२ र अर्को पटक २० हजार रुपैयाँ ऋण तिरे । तर, पछि ११ लाख ४४ हजार रुपैयाँको तमसुकमा हस्ताक्षर गरेको देखाइयो । जिल्ला अदालतमा मुद्दा चल्यो । मुद्दा रेकमबहादुरले नै जिते । अहिले देवबहादुरको परिवारको बिचल्ली भएको छ ।

त्यस्तै, देवबहादुरका भाइ मीनबहादुर घर्तीले एक लाख रुपैयाँ ऋण लिएको एक वर्षपछि १२ लाख ५६ हजार रुपैयाँ ऋण तिर्नुपर्यो । रेकमबहादुरले देवबहादुरसँग पनि उहीं प्रकृतिको खेल खेलेका थिए । त्यस्तै, प्यठान झिमु्रकका कमल सावतले पनि रेकमबहादुरसँग ५ हजार रुपैयाँ ऋण लिए । केही समयपछि कमल १ लाख ६० हजार रुपैयाँ तिर्न बाध्य भए । रेकमबहादुरका कारण पीडित भएकाको सूची लामो छ । मुलपानीका शिद्धिमान खड्काले ३२ हजार ऋण लिँदा घरजग्गा नै गुमाउनु प¥यो ।

८ हजार रुपैयाँ सापटी लिएका कारण वादीकोटका गोकर्ण विकको उठिबास लाग्यो । गुल्मी मादनेका १७ हजार रुपैयाँ ऋण लिने विमल खड्काले साढे दुई वर्षपछि करिब दुई लाख रुपैयाँ तिर्नुप¥यो । यस्ता पीडित त कति छन् कत्ति !

सोझासीधा व्यक्तिलाई अनेक प्रलोभनमा पार्न खप्पिस मानिन्छन् रेकमबहादुर । साक्षी बस्नेलगायत अरु प्रपञ्च मिलाउन उनको समूहमा ५/५ जना सक्रिय छन् ।