चौतारा– विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका खानेपानी योजनामध्ये हालसम्म ९० प्रतिशत योजनाको काम सम्पन्न भएको छ । क्षतिग्रस्त ६९१ योजनामध्ये बाकीँ दश प्रतिशत योजनाको काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डि ई लक्ष्मी उपाध्यायले बताएकी छन् ।


ADVERTISEMENT


क्षतिग्रस्त योजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्थाका थिए । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका र नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेका छन् । चौतारा सागाचोक गढी नपा– ८ इर्खूको दियाले, मेलम्ची नपा अन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण कार्य भइरहेको डिभिजनल इञ्जिनीयर उपाध्यायले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तौ सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गतवर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । झण्डै अढाइ दशकअघि प्रतिसेकेण्ड १० मिटर क्षमताको पानी लाइन पाइप विछ्यााइएकोमा हालको जनसङ्ख्यालाई धान्न नसक्ने भएपछि तीन मुहान थप गरी दोब्बर क्षमतामा विस्तार गरिने लक्ष्य रहेको छ ।

हाल विछ्याइएको उच्च गुणस्तरको जापानबाट ल्याइएको डिआइ पाइप रहेका छन् । रु ६५ करोडको लगानीमा गरिएको सो काम थालखर्कको मुहान क्षेत्रमा अझै ३.५ किमी पाइप विछ्याउने काम बाँकी नैै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको आयोजनाको काम बजेट निकासा नपठाएपछि दुईवर्ष अधिबाटै रोकिएको थियो ।

नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन लगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयका कर्मचारीको काम तथा कार्यालय नतोकिंँदा हाजिर गरेर मात्र दिन बिताउने गरेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने अझै टुङ्गो नलागेपछि अधूरो काम अस्तव्यस्त भएका छन् ।

त्यस्तै खानेपानीको काम अब कुन निकायले गर्ने निश्चित नभएपछि अधुरा काम अलपत्र अवस्थामा रहेको हुदाँ यसबाट जनता प्रत्यक्ष प्रभावित भएका छन् । रासस