काठमाडौं – १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ ।


ADVERTISEMENT


नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।


ADVERTISEMENT

# # #


क्रस कन्ट्री इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो । यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

पाँच चरणमा हुने प्रतिस्पर्धामा बुधबार पाँचौ चरण सकिएको हो । नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो ।

मंगलबार भएको चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा पुगेपछि पदक लगभग पक्का भएको थियो । स्वर्णकै सम्भावना रहेको भए पनि अन्तिम चरणको खेलमा पनि जापानभन्दा पछि रहेपछि नेपालले रजत पदक जितेको हो ।

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।

प्याराग्लाइडिङ जारी १८ औं एसियाली खेलकुदमा पहिलोपटक समावेश गरिएको हो । जसमा व्यक्तिगत एक्युरेसी, टिम एक्युरेसी र टिम क्रस कन्ट्रीका खेलहरु समावेश थिए ।

नेपालले पदक जितेको क्रस कन्ट्रिमा प्याराग्लाइडर्सहरुका लागि निश्चित टार्गेट लोकेसन दिइएको हुन्छ जसमा एक्युरेसी र स्पिडका आधारमा अंक दिइने गरिन्छ ।