काठमाडौं– नेपाल प्रहरीका नायव महानिरिक्षक राम प्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थविरुद्ध ऐन–२०६८ प्रभावकारी रुपले कार्यान्वयन गर्न विभिन्न मन्त्रालयहरुबीच समन्वयन हुनुपर्ने बताएका छन् । काठमाडौंस्थित नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा मंगलबार संचालित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस कुरालाई बताएका हुन् ।


ADVERTISEMENT


डिआईजी श्रेष्ठले नेपाल प्रहरी सुर्तीजन्य पदार्थ रोकथामको लागि पूर्ण प्रतिबद्ध रहेको पनि विश्वास दिलाएका छन् । उनले नेपाल प्रहरी केन्द्र, संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रतिबद्ध भएको कुरा स्पष्ट पारेका छन् । किशोरकिशोरीहरुले सुरुमा सुर्तीजन्य पदार्थको सेवन गरेतापनि कालान्तरमा लागुपदार्थको सेवन गर्ने कुरा अनुसन्धानले देखाएको श्रेष्ठले सुनाएका छन् । उनले भने,‘यसले गर्दा समाजमा शान्ति तथा सुरक्षा स्थापना गर्नको लागि चुनौती खडा भएको छ ।’


ADVERTISEMENT

# # #


त्यस्तै कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ, वातावरणीय प्रभाव र अस्वस्थकर खानपिननै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताए । डाक्टर पौडेलले नेपाल प्रहरीले मादक पदार्थ नियन्त्रणमा ठुलो सफलता हासिल गरेकोमा धन्यबाद दिँदै सुर्तीजन्य पदार्थ रोकथामको लागि पनि नेपाल प्रहरीको ठुलो भुमिका हुने धारणा राखेका छन् ।

फ्रान्सको पछिल्लो एक वर्षमा १० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ त्यागेर विश्वलाई पाठ सिकाएको स्मरण गराउँदै डाक्टर पौडेलले नेपाललेपनि यस्ता कुराको अनुशरण गर्नुपर्ने कुरा बताएका छन् । स्वास्थ्य मन्त्रालयका कानून उप–सचिव पुष्कर नेपालले नेपालमा स्थिर सरकार बनेपछि सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन् ।

उनले अनुसार स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विभिन्न निकायहरुसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी योजना संचालन गरिने पनि विश्वास दिलाएका छन् । नेपालले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०६८ को बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राखेका छन् । उनले जनचेतनाको कारणले गर्दा विकसित देशमा मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहेको र रोग लाग्नुभन्दा पहिलेनै सतर्कता अपनाएकोले रोगको उपचार खर्च कम हुने र उपचारको प्रभावकारी हुने स्पष्ट पारे ।

क्यान्सरजस्तो रोग रोकथामको लागि सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रम अति आवश्यक भएको पनि उनले बताएका छन् । साथै, नागरिक समाजले पनि सरकारका विभिन्न निकायसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्नुपर्नेबारे उनको जोड थियो ।