काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल महिला सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको सङ्घको ७१ औँ स्थापना दिवस तथा तिज शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “राणा शासन, प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापनालगायतका आन्दोलनमा सङ्घले महत्वपूर्ण भूमिका खेलेको छ, ।”


ADVERTISEMENT

# # #


नेता सिंहले महिला सङ्घले स्थापना कालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकूल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि सङ्गठन विस्तार गर्दै लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले महिला हकअधिकारका लागि सङ्घले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै नेपालको राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहे पनि संसद र पार्टीभित्र पनि महिलाले अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले महिला सशक्तीकरण, जागरण र सामाजिक रुपान्तरणमा सङ्घको ठूलो योगदान रहेको बताए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो नहुने बताउँदै गाउँगाउँसम्म महिला जागरण लैजान जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।

नेपाल महिला सङ्घ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलगायतले काँग्रेसमा ५० प्रतिशत महिला सहभागिता बनाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसको भ्रातृ संस्थाका रुपमा रहेको महिला सङ्घको स्थापना विसं २००४ मा मंगलादेवी सिंहको नेतृत्वमा भएको थियो ।