काठमाडौँ – नेपाल र बंगलादेशबीच ऊर्जा सहायतासम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनः र उनका बंगलादेशी समकक्षी नसरुल हमिदले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


यो समझदारीबाट नेपालबाट उत्पादित बिजुली प्रसारण लाइनको टुंगो लागेमा बंगलादेशमा निर्यात हुने ढोका खुलेको छ । बंगलादेशले अहिले भारतबाट ५०० मेगावाट बिजुली आयात गरिरहेको छ ।


ADVERTISEMENT

# # #


समझदारी पत्रमा हस्ताक्षर हुनुअघि बंगलादेशका ऊर्जा मन्त्री हमिदले नेपालको अपार सम्भावना रहेको जलविद्युत्मा बंगलादेशले सरकारी र निजी क्षेत्रबाट जुनसुकै किसिमको सहयोग आदान–प्रदान गर्न सकिने बताए ।

उनले बंगलादेशमा ऊर्जाको आवश्यकता रहेकाले त्यसलाई पूर्ति गर्न छिमेकी र अत्यन्त घनिष्ठ देश नेपालमा सम्भावना देखिएको उल्लेख गरे । ‘हामी नेपालको जलविद्युत्मा लगानी गरी यहाँबाट बिजुली आफ्नो देशमा लैजान तयार छौं’ उनले भने ।

बैठकमा ऊर्जा मन्त्री पुनले समकक्षी र उनको टोलीलाई स्वागत गर्दै सरकारको मार्गचित्र, नीति, कार्यक्रमबारे अवगत गराए । उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य राखिएकाले त्यहीअनुसार काम भइरहेको बताए ।

‘हामीले उपभोग गरेर पनि आगामी दिनमा ५ हजार मेगावाट बिजुली निर्यात गर्न सकिनेछ,’ मन्त्री पुनले भने, ‘हामी बंगलादेशसँग सहकार्य गर्न सदैव तयार छौं ।’