नेपालगञ्ज– नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ ।


ADVERTISEMENT


गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको छ ।


ADVERTISEMENT

# # #


बुधवार अपराह्न छाडा चौपाया लिएर निकुञ्ज क्षेत्रमा पुगेको नगरपालिकाको पाँचवटा ट्रकलाई नेपाली सेनाले फिर्ता पठाएपछि समाधानको यो प्रयास पनि तुहिएको छ । निकुञ्जले यसअघि जंगल क्षेत्रमा पशु चौपाया छाड्ने कार्यप्रति आपत्ति जनाउँदै आएको थियो ।

नेपालगञ्जको फूलटेक्रामा (सानो आँकारको कान्जी हाउस) सबै छाडा चाौपाया नअट्ने भएपछि निकुञ्ज आसपास छाडने गरिएको थियो । निकुञ्जले पनि यसमा पूर्णविराम लगाएपछि अहिले नेपालगञ्जका पदाधिकारी रनभुल्लमा परेका छन् ।

“हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुन सक्छ,” नगर प्रमुख डा धवलशम्शेर राणाको प्रश्न छ ।

नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको संख्यामा पशु यता धपाउने गरिएको छ । वर्साात् शुरु भएपछि ढुवानी कारोवारीले ल्याएका खच्चरमध्ये रोगी, थाकेका र मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले छाडा चौपायाको समस्या झन बल्झिएको छ ।

केही समय अघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो । रासस