काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली कांग्रेसका कारण नै सरकार डा केसीसंग सहमति गर्न बाध्य भएको बताएका छन् शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदथापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिए ।


ADVERTISEMENT


उनले भने, ‘केही माननीय सदस्यले संसदको बैठकमा कांग्रेस किन उठ्यो भनेर प्रश्न गर्नु भएको थियो । मैँले उहाँहरुलाई भने, कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै हुनुहुन्थ्यो । त्यही भएर उठेको । नेपाली कांग्रेस उठेको उठ्यै गरेका कारण सरकार आज डा. गोविन्द केसीलाई उठाउन बाध्य भएको छ । म सरकारलाई धन्यवाद दिन चाहन्छु ।’


ADVERTISEMENT

# # #


यस्तै सांसद थापाले अब डा. गोविन्द केसीलाई हार्न नदिने बताएका छन् । नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसन नै अन्तिम बनाउन उनले सरकार र संसदलाई आग्रह पनि गरेका छन् ।

एउटै व्यक्ति एउटै विषयका लागि पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘हामी सम्झौता गर्छौ तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृखलालाई अन्तिम बनाऔं । आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’

‘यो पटक डा. केसीलाई पनि हार्न दिन्नौँ र हामी आफू पनि हार्दैनौं । जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ ।’

कांग्रेस आफैं चिकित्सा शिक्षा अध्यादेशका कारण नैतिक बन्धनमा बाँधिएको भन्दै उनले सहमतिअनुसार संसदबाट कानुन बनाउन पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।