काठमाडौँ– एक महिनादेखिको फुटबलको महाकुभ्म अर्थात विश्वकप अन्तत: आज टुंगिँदैछ । फाइनलमा आज बेलुकी नेपाली समय अनुसार ८:४५ बजे रुसको राजधानी मस्स्कोस्थित लुजनिकी स्टेडियमा उपाधी उचाल्नका लागि फ्रान्स र क्रोएसिया भिड्दैछन् ।


ADVERTISEMENT


३२ देश सहभागी भएको यस महाकुम्भमा सबैलाई पछि पार्दै फ्रान्स र क्रोएसिया यहाँसम्म आइपुगेका छन् । यी दुबै टिमसंग विश्वकप ट्रफी उचाल्ने सपना छ । त्यही सपनालाई पूरा गर्नका लागि उनीहरु एक आपसबीच आज भिड्दैछन् ।


ADVERTISEMENT

# # #


उपाधीका दाबेदार मानिँदै आएका बलिया टोलिलाई पाखा लगाउँदै आएको फ्रान्ससामू २० वर्षपछि फुटबलको विश्व च्याम्पियन बन्ने अवसर सिर्जना भएको छ भने पहिलो पटक विश्वकपको फाइनल पुगेर सनसनी मच्चाएको क्रोएसियालाई उपाधी जितेर स्वर्णिम इतिहास रच्ने मौका प्राप्त भएको छ ।

फ्रान्सको आशा : समाप्त हुँदैछ २० वर्षे वनवास !

अस्ट्रेलिया, पेरू, अर्जेन्टिना, उरुग्वे र बेल्जियमलाई हराउँदै फ्रान्स २० वर्षमा तेस्रो पटक फाइनल पुगेको छ । १९९८ मा च्याम्पियन बनेको फ्रान्स २००६ मा दोस्रो भएको थियो । यदि आज जितेमा २० वर्षपछि फ्रान्सको ट्रफीसहित घरफिर्ती हुनेछ । फ्रान्सका ७८ प्रतिशत खेलाडी शरणार्थी परिवारबाट प्रतिनिधित्व गर्छन् । टिमका १२ खेलाडीको जन्म अफ्रिकी देशमा भएको छ ।

२०१६ मा फ्रान्स आफ्नै घरमा उत्कृष्ट खेलेर यूरो कपको फाइनल पुगेको थियो । तर, पनि स्टार रोनाल्डोको टिम पोर्चुगलसंग पराजित भएसंगै एक ठूलो कप उचाल्ने सपना समाप्त भएको थियो । उसलाई त्यसको पिडा अहिलेसम्म पनि छँदैछ । फ्रान्सलाई त्यही पिडामय घाउमा मह्लम लगाउने सुन्दर मौका आएको छ । फ्रान्स त्यसका लागि आफ्ना सबै शक्ति लगाउन तयार छ । त्यस कारण युवा जोस र प्रतिभाले भरिएको टिम फ्रान्सले यसपटक उपाधी नउचाल्ला भन्न सकिन्न ।

सपना र जोसले भरिएको क्रोसियाली टिम

४० लाखको जनसंख्या भएको क्रोएसिया उरुग्वेपछिको फाइनल पुग्ने सबैभन्दा सानो मुलुक हो । फाइनल पुगेपछि क्रोएसियाको एक पत्रिकाले लेखेको छ, ‘सपना सपना सपना ! क्रोएसिया फाइनलमा पुगेको छ’ । यही सपनालाई साकार पारेर विश्वकप ट्रफी पहिलो पटक भित्र्याउने दाउमा अहिले क्रोएसिया छ ।

क्रोएसिया यहाँसम्म पुग्छ भनेर कसैले सोचेका पनि थिएनन् । तर, उसले जुन किसिमको खेल देखायो, त्यसले नै क्रोएसियालाई फाइनलमा जाने हकदार बनाएको हो । हार नमान्नु नै क्रोएसियाको ठूलो शक्ति हो । जुन कुरा उसले इङल्याण्डविरुद्ध खेलेको सेमिफाइनलमा देखाएको थियो । एक गोलले पछि भएपनि अतिरिक्त समयसम्म खेललाई लिएर अन्त्यमा उसले जित हात पारेको थियो ।

उसले लगातार तीन खेल अतिरिक्त समयसम्म पुगाएर जितेको छ । यसबाट पनि अन्दाज लगाउन सकिन्छ कि क्रोएसिया अन्तिम पलसम्म पनि हार मान्दैन । फ्रान्सका लागि यो टाउको दुखाइको विषय हो । तर के क्रोएसिया फ्रान्सको कडा डिफेन्सलाई तोडेर इतिहास रच्न सक्ला ? यो भने अबको केही घण्टामै थाहा हुनेछ । लुका मोड्रिचको यो टिम फ्रान्सलाई पराजित गर्ने हैसियत भने पक्कै राख्छ ।

क्रोएसिया एक सन्तुलित टिम हो जसको ताकत उसको मिडफिल्ड हो । जसको नेतृत्व विश्वका सर्वश्रेष्ठ मिडफिल्डरमा गनिने लुका मोड्रिचले गर्दैछन् । कप्तानको हैसियतमा उनीमाथि आफ्नो देशलाई पहिलो पटक विश्वकप ट्रफी जिताउने ठूलो जिम्मेवारी छ । क्रोएसिया यस्तो टिम होइन जो एक खेलाडीको भरमा खेल्छ । उसंग एन्टे रेबिक, इवान राकिटिक, सिमे वारसाल्ज्को, इवान पेरिसिक जस्ता प्रतिभावान खेलाडी छन् ।

‘हेड टु हेड’ मा फ्रान्स अगाडी

क्रोएसियासँग खेलेका पाँच खेलमा फ्रान्स अपराजित रहेको छ । तीन खेल जितेको छ भने दुई खेल बराबरी भएको छ । जसमा फ्रान्सले ९ गोल गरेको छ भने ३ गोल खाएको छ ।

क्रोएसिया पहिलो पटक विश्वकप खेल्दा सन् १९९८ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यो बेला फ्रान्ससँग नै २–१ ले हारेको थियो ।

क्रोएसिया र फ्रान्सबीच २००४ को युरो कपमा समूह चरणमा भेट हुँदा २-२ को बराबरी भएको थियो । २०११ मा भएको मैत्रीपूर्ण खेलमा भने गोलरहित बराबरी भएको थियो ।

चम्किनेछन् यी खेलाडी

फ्रान्स

१. किलियन एम्बाप्पे

स्टार खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध चार मिनेट मै दुई गोल गरेर फ्रान्सलाई क्वार्टरफाइनल पुगाएका किलिएन एम्बाप्पेलाई रोक्नु नै क्रोएसियाका खेलाडीका लागि सबैभन्दा ठूलो चुनौति हुनेछ ।

१९ वर्षीय एम्बाप्पेले आफ्नो तीव्र गतीको दौडको मदतमा यस प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट रक्षापङ्तीलाई छकाउँदै गोल गरिसकेका छन् । यसका साथै फ्रान्सका एन्टोनी ग्रिजम्यान, बेञ्जामिन पवार्ड र ओलिभियर गिरोड पनि जुनसुकै समय गोल गर्ने क्षमता राख्छन् ।

२. कप्तान ह्युगो लोरिस

फ्रान्सका कप्तान समेतर रहेका गोलकिपर आजको खेलको महत्वूर्ण नायक हुन सक्छन् । उनले अहिलेसम्म ४ गोल मात्रै खाएका छन् । समूह चरणमा अष्ट्रेलियासंग १ तथा प्रिक्वार्टर फाइनलमा अर्जेन्टिनासंग ३ गोल खाएका उनले अन्य सबै देशका स्टार को बललाई आफ्नो पोष्टको जाली चुमाउन दिएका छैनन् ।

क्वार्टर फाइनलमा उरुग्वेलाई २-० र सेमिफाइनलमा बेल्जियमलाई १-० ले हराएको फ्रान्सका लागि लोरिसले उत्कृष्ट खेलिरहेका छन् । यो भनेको महत्वपूर्ण खेलमा उनले गोल गर्न दिएका छैनन् । त्यस कारण फ्रान्सको सबैभन्दा ठूलो ताकत मध्येको एक उसको गोलकिपर पनि हो ।

क्रोएसिया

१. कप्तान लुका मोड्रिच

सन्तुलित टिम क्रोएसियाको शक्ति नै मिड फिल्ड हो । जसको नेतृत्व विश्वका सर्वश्रेष्ठ मिडफील्डरमा गनिने लुका मोड्रिचले गर्दैछन् । कप्तान समेत रहेका मोड्रिचले यसअघि इङल्याण्डसंगको खेलमा एक गोलले पछाडि परिरहँदा पनि टिमलाई जुन किसिमको नेतृत्व प्रदान गरे त्यो सबैका लागि उदाहरणीय छ । अन्तिम समयसम्म टिमलाई धैर्य बनाउँदै उनी जित निकालेरै मैदान बाहिर निस्किए ।

उत्कृष्ट मिडफिल्डर मध्येका एक मोड्रिच गोलका लागि वातावरण तयार गर्ने तथा टिमलाई सही दिशानिर्देश गर्ने कौशलताका कारण नै क्रोएसियाको पक्षमा नतिजा जुनसुकै बेला पल्टिन सक्छ ।