कैलाली– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नतिको काम सरकारले गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


आज विमानस्थल कार्यालयमा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले भने, “छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले धनगढी विमानस्थलसहित विराटनगर, जनकपुर, नेपालगञ्ज र चन्द्रगढी विमानस्थललाई स्तरोन्नती गर्ने काम भइरहेको छ ।”


ADVERTISEMENT

# # #


पर्यटनको महत्वपूर्ण पूर्वाधारका रुपमा हवाई सेवाको सुविधा पर्ने उल्लेख गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि निजगढ, भैरहवा, पोखराका विमानस्थललाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निर्माण कार्य भइरहेको बताए ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले विमानस्थलको स्तरोन्नतिका लागि केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले धनगढी विमानस्थलको स्तरोन्नती गर्ने विषय वर्षेनी हरेक सरकारले कुरा गर्ने भएपनि त्यसको व्यवहारमा कार्यान्वयन नगरिएको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायीद्वय संजय चौधरी र मायाप्रकाश भट्टले विमानस्थलको स्तरोन्नतिको लागि निजी क्षेत्रबाट भएको प्रयासका बारेमा जानकारी दिएका थिए।

झण्डै १२ वर्षअघि निजी क्षेत्रको पहलमा पहिलोपटक रकम समेत संकलन गरी यो विमानस्थलको स्तरोन्नतिको पहल शुरु गरिएको थियो ।स्तरोन्नतिका लागि धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ । स्तरोन्नतीका लागि विमानस्थलको पूर्वतर्फको १४ कठ्ठा १५ धुर जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले बताए ।

जापानी सहयोग नियोग जाईकाले विमानस्थल स्तरोन्नतीका क्रममा भिओआरडीएमई नामको उपकरण जडान गरेपछि केही समयदेखि विमानस्थलमा रात्रिकालीन समयमा पनि उडान सञ्चालन हुन थालेको छ । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको देशकै दोस्रो ठूलो धनगढी विमानस्थल हो ।

काठमाडौं–धनगढी–काठमाडौंसम्म दैनिक हवाई सेवाको सुविधा प्राप्त प्रदेश नं. ७ को एकमात्र यो विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमका अलावा निजी क्षेत्रको बुद्ध एयरलाइन्स, सौर्य एयरलाइन्स र श्री एअरलाइन्सले हवाईसेवा सञ्चालन गरिरहेका छन् ।रासस