काठमाडौं– कलाकार एवं सामाजिक अभियन्ता धुर्मुस–सुन्तली (सीताराम कट्टटेल र कुञ्जना घिमिरे) ले वीर अस्पतालको सफाइ तथा रङरोगनको काम सम्पन्न गरेका छन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा थालिएको उक्त सफाइ अभियान ४४ दिनमा सम्पन्न भएको फाउन्डेसनले जनाएको छ। अस्पताल सफाइ अभियानको काम सम्पन्न भएसँगै केही दिनमै औपचारिक कार्यक्रममार्फत वीर अस्पताल प्रशासनलार्इ उक्त कार्य विवरण हस्तान्तरण गर्ने तयारी भइरहेको धुर्मुसले बताएका छन् ।
सुरुमा १५ दिनमा सफाइ अस्पतालको गर्ने भनिएको थियो तर रङरोगन समेत गर्नुपरेकाले सफाइ कार्य लम्बिएको धुर्मुसको भनाइ छ । यससँगै अभियानको लागत पनि बढेको बताइएको छ ।
गत बैसाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, कलाकार धुर्मुससहितको टोली र सरसफार्इकर्मी खेम शर्माले वीर अस्पतालको शौचालय सफा गरेर उक्त अभियानको सुरुआत गरेका थिए ।
अहिले वीर अस्पतालको बाहिरी र भित्री चमक फेरिएको छ । सौचालय समेत चिटिक्क पारिएको छ भने भित्ताहरूमा मनोरम चित्र तथा शान्त रङ प्रयोग गरिएको छ, जसले बिरामीको मनलार्इ त्यसै पनि आधा सञ्चो पार्न सक्छ ।
तस्विरहरु : रासस