भीमदत्तनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४८३ जना लाभान्वित भएका छन् ।


ADVERTISEMENT


शुक्लाफाटा नगरपालिका–१२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एक दिवसीय आँखा शिविरमा १६१ जना पुरुष र ३२१ जना महिला गरी ४८३ जनाले सेवा लिएको वडा नं १२ का अध्यक्ष वाले रानाले बताएका छन् ।


ADVERTISEMENT

# # #


शारीरिक तथा सामाजिक रुपमा समस्यामा रहेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगतालाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको आँखा शिविरमा ४० वर्ष भन्दा बढी उमेर भएका सेवाग्राहीको संख्या बढी रहेको थियो ।

शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल जान नसकेका र मोतिबिन्दुको कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीले पनि सेवा पाएको वडाध्यक्ष रानाको भनाइ छ ।

जटिल खालका बिरामीको गेटा आँखा अस्पताल कैलालीमा निःशुल्क शल्यक्रियासमेत गरिने अध्यक्ष रानाले जानकारी दिएका छन् ।

शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधासमेत उपलब्ध गराइएको थियो । रासस