इटहरी– सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले लखेटेर एक तस्करलाई सामानसहित नियन्त्रणमा लिएको छ । बिहीबार राति भारतीय गाडीसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल–भारत सीमामा सेटिङ बनाएर तस्करीमा सक्रिय सुनसरी कोशी गाउँपालिका ८ हरिपुरका ३० वर्षीय चन्दन यादव समातिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


कोशी गाउँपालिका श्रीपुरमा खटिएको प्रहरी टालीले बी आर ३८ पी १९४८ नं. को कार रोक्न खोज्दा उक्त कार नरोकिई भागेको थियो । प्रहरीलाई पेलेर भागेको उक्त कारलाई नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी नारायण चिमोरिया नेतृत्वको प्रहरी टोलीसमेत खटिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त कारसहित यादवलाई कोशी गाउँपालिका ६ को कटानबाट नियन्त्रणमा लिएको डीएसपी चिमोरियाले बताए । यादवले यसअघि पनि संगठित रुपमा तस्करी गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत वैशाख २५ गते कोशी गाउँपालिकाबाटै भएको तीन हजार ५१० किलो चाइनिज स्याउ बरामदको घटनामा समेत यादव जोडिएको बताइएको छ ।

कोशी गाउँपालिका ८ पानीटंकी पूर्व दक्षिणतर्फको यादव टोलबाट भारतीय ट्रकमा हालेर भारततर्फ लैँजादै गरेको स्याउ प्रहरीले नियन्त्रणमा लिएको थियो । बीआर ५०जी ४०१६ नं. को उक्त ट्रकसँगै भारत सुपौलका ट्रकमा चालक ३३ वर्षीय पवन यादवसमेत समातिएका थिए । १९ लाख बढीको उक्त सामान र ट्रकमा प्रहरीले भन्सार पठाएको थियो ।

नेपालको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था छ । सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय तस्करलाई स्थानीय सशस्त्र प्रहरीले नै सुरक्षा दिने गरेको र तस्करको सवारी साधनमा सशस्त्र प्रहरी हतियारसहित डुल्ने गरेको कोशी गाउँपालिकाका स्थानियवासी बताउँछन् ।