–अञ्जना अधिकारी


ADVERTISEMENT


राजनीतिक क्रान्तिको अन्त्यसँगै सामाजिक, आर्थिक, समृद्धि र सुसाशनको नयाँ क्रान्तिपूर्ण अभियानमा मुलुकलाई डोर्याउने आजको समयसम्म आइपुग्न नेपालका होनहार, ऐतिहासिक थुप्रै महिला नेत्रीहरुको अतुलनीय भूमिका रहेको छ । नेपाली युवा महिलाहरुको आन्दोलनको इतिहास स्वर्णीम, अमर र स्वभिमानी निरन्तर आइरहेको छ ।


ADVERTISEMENT

# # #


पितृसत्तात्मक चिन्तनबाट प्रेरित भएर चलिरहेको हाम्रो सामाजिक, साँस्कृतिक परिवेशमा हामी नेपाली युवा महिलाहरुको संघर्ष अझै चिरस्थायी छ । आफ्नो आस्था, विचार र सिद्धान्तलाई सधैँभरी आत्मसात गर्दै महिला मुक्ती आन्दोलन आजको यो गर्भिलो परिस्थितिसम्म आइपुगेको छ ।

राष्ट्रिय स्वाधिनता र सिमाना रक्षासँगै राणा, पञ्चायत, निरंकुश राजतन्त्र जस्ता गलत राज्य व्यवस्थाको विरुद्धमा दुधे बच्चाहरुलाई कम्मरमा बाँधेर शीरमाथि लालकफन बाँधेर सडक संघर्षमा पूर्ण रुपमा महिलाहरु उत्रिएका सर्मपण पूर्ण उदाहरणहरु हामीसँग प्रशस्तै छन् । चुलो, चौको अनि मधेनीकी रानी भएर बस्नु पर्ने ती विवशताहरुलाई तोड्दै मुलुक परिवर्तनको निमित्त ज्यानलाई हत्केलामा राखेर मैदानमा उत्रिएको साहसी इतिहास हामीसँग छ ।

विश्व कम्युनिष्टका मुल गुरु कार्लमाक्सले भन्नुभएको छ– “महान सामाजिक परिवर्तन महिलाको विद्रोहबिना असम्भव हुन्छ ।” दुनियाँ २१ औं शताब्दीमा प्रवेश गरिसकेको छ । ग्लोबोलाइजेसन र आईटीले विश्वलाई साँघुरो बनाइरहेको छ । विश्वका धेरै शक्ति राष्ट्रहरु महिलाको नेतृत्वबाट चलिरहेका छन् । सक्ने/नसक्ने सम्पूर्ण चमत्कारीक कामहरु महिलाले कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।

यस्तो अवस्थामा हामी नेपाली महिलाहरु राजनीतिक रुपमा अग्रसर भएता पनि अझै धेरै सामाजिक, पारिवारिक, साँस्कृतिक पिडामा र चुनौतिको बीचमा छन् । अपसोचका साथ भन्नुपर्छ सामाजिक विभेद, कुरिति, कु–सँस्कार, अन्धविश्वास र विभत्स अपराधको शिकार अझै पनि नेपाली महिलाहरु भइरहका छन् । बोक्सी, छाउपडी, जातीय विभेद, दाईजो, बलत्कार जस्तो सुन्दा पनि आङ सिरिङ्ग हुने जघन्य अपराधको पिडा भोग्नु नेपाली महिलाको विवश्ता छ ।

हाम्रो नेपाली समाज पितृसत्तात्मक चिन्तनबाट अनुशरण हुँदै आएको समाज हो । विश्वमा युगले कोल्टे फेरिसकेको भएता पनि राजनीतिक, सामाजिक रुपमा थोरै चेतना अभिवृद्धि नेपाली समाजमा हुँदै गरेको भएता पनि मुलुक समृद्धि र सम्पन्नशाली भएर महिला पुरुष बीचको असमानतालाई समानता र समतामुलक समाजको रुपमा रुपान्तरित गर्न अझै पनि महिलाहरुको जुन आर्थिक परनिर्भता छ वा भनौं कानूनी रुपमा केही उपलब्धी भए पनि व्यवहारिक रुपमा कार्यन्वयन हुन सकिरहेको छैन ।

नेपाली महिलाहरुको ठूलो हिस्सा आर्थिक पहुँचको रुपमा कमजोर भएर बाँचिरहेका छन् । त्यस कारणले पनि नेपालमा महिलाहरुले अपेक्षा राखे जति उपलब्धी हाँसिल गर्न सकिरहेका छैनन् । घरको आर्थिक अवस्थाको सम्पूर्ण अधिकार अझै पनि पुरुषमा नै रहेको हुन्छ ।

महिलाले पुरुषले दिएको सिमित अधिकार भित्र रहेर आफ्नो व्यवहार टार्नु पर्ने बाध्यता छ । हाम्रो जस्तो ५१ प्रतिशत भन्दा पनि बढी महिला जनघनत्व रहेको समाजमा जबसम्म महिला र पुरुष बीचमा रहेको आर्थिक असमानताको अन्त्य हुदैन, उत्पादनको साधनमा र क्षेत्रमा महिलाको पनि प्रत्यक्ष अधिकार रहदैन, हरेक महिलालाई आर्थिक उत्पादनको क्षेत्रमा संलग्न गराइँदैन तबसम्म सभ्य, सुखी र संमृद्ध समाजको परिकल्पना खोक्रो नाराको रुपमा रहन्छ ।

राष्ट्र विकासमा हातमा हात मिलाएर बराबर जिम्मेवारी लिनुपर्ने समुदाय यदि अनुत्पादक र प्रयोगहीन भएर घरधन्दा, चुलोचौको अनि बच्चा जन्माउने मेशिनको रुपमा मात्र सिमित भएर रहनु राष्ट्रको लागि नै दुर्भाग्य हो । किनकी घर घर मिलेर टोल, टोल टोल मिलेर समाज र समाज समाज मिलेर राष्ट्र बन्छ । हामीलाई थाहा छ सिङ्गो राष्ट्र बन्न घरदेखि समाजसम्म महिलाहरुको सम्पूर्ण रुपमा सशक्त उपस्थिति हुनु अनिवार्य आवश्यकता हो ।

यो सत्य हो सम्पूर्ण नीतिहरुको मूल नीति नै राजनीति हो । हामीले ईतिहास पढेका छौ, ठूलाठूला गलत राज्य व्यवस्थाका विरुद्धमा, राज्यको अस्तित्व, आत्मासम्मान र सिमाना रक्षाको समयमा नेपाली महिलाहरु युगौदेखि नै बलिदानीपूर्ण संघर्षमा उत्रिएका छन् । कुनै पुरुषले भन्दा कम योगदान इतिहासमा र वर्तमानमा पनि महिलाले नगरेको छैनन् ।

आँट, शाहस र हिम्मत हरेक लडाईमा विगतदेखि नै नेपाली महिलाहरुले अदम्य जोश र जाँगरकासाथ देखाउदै आएका छन् । योगमाया न्यौपानेको अरुण नदीमा ६८ जना अनुयायी सहित गरेको आत्मादाहको क्रान्तिदेखि कामक्षदेवी राणा, हसिनादेवी श्रेष्ठ, साहाना प्रधान, साधना प्रधान, मंगलादेवी सिंह, विद्या भण्डारी लगायत थुप्रै थुप्रै महिलाहरुले राजनीतिक रुपमा अधिकार प्राप्ति आन्दोलनको एतिहासिक नेतृत्व गर्नुभएको थियो ।

आज हामी ५० प्रतिशत महिला समावेशिताको वकालत गरिरहेका छौ । यो हिजोका हाम्रा महिला नेतृहरुको अथक प्रयास र आन्दोलनबाट मात्र सम्भव भएको हो । अतः ५० प्रतिशत अझै पनि व्यवहारमा भन्दा पनि नारामा मात्र सिमित भइरहेको छ ।

पुरुषप्रधान चिन्तनबाट ग्रसित भएको हाम्रो नेपाली समाज नेतृत्व र निर्णय तहमा अझै पनि महिलाहरुले काम गर्न सक्दैनन् भन्ने संकुचित धारणा बोकेर हिडिरहेका छन् । यस्तो अवस्थामा महिलाहरुको सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक स्तरोन्नती, पहुँच र सशक्त उपस्थितिको निमित्त अहिलेको समयका,  जो हामी जस्ता नयाँ सोच, अथक इच्छा शक्ति, निरन्तर राजनीतिक लगनशिलता भएका युवा महिला नेतृत्वबाट अबको आन्दोलनको अगुवाई हुनुपर्दछ ।

जस्तोसुकै परिस्थितिलाई पनि छिचोल्दै महिलाहरुको उच्च राजनीतिक दखल, हस्तक्षेपकारी भूमिकामा अबका युवा महिलाहरु पुग्नु समग्र मुलुक विकासको निमित्त अपरिहार्य आवश्यकता हो ।

एउटा युवा महिला नेतृ भएको नाताले पनि हरेक समय र कालखण्डमा युवा संघको संस्थागत तह र मेरो व्यक्तिगत तहबाट पनि महिलाहरुको समान सहभागिता र सम्पूर्ण क्षेत्रमा नेतृत्व विकासको निमित्त मेरो राजनीतिक क्रियाशिलता, लगनशिलता, निष्ठालाई इमान्दारीतापूर्वक अगाडी बढाइरहने छु । म तबसम्म लागिरहनेछु जबसम्म राज्यले ५० प्रतिशत महिला सहभागिताको एजेन्डालाई उच्च मूल्याङ्कन गरेर त्यसलाई व्यवहारिक रुपमा नै शतप्रतिशत कार्यान्वयनको तहमा आत्मसात गर्दैन ।

तबसम्म जबसम्म कानूनमा मात्र लेखिएका धेरै महिलामैत्री कानूनलाई यथार्थतामा नै कार्यान्वयनको तहमा ल्याईँदैन । तबसम्म जबसम्म महिला दोस्रो दर्जाको नागरिकबाट समान हैसियत भएको नागरिकको रुपमा पूर्ण रुपमा रुपान्तरित हुँदैनन् । तबसम्म जबसम्म शिक्षा, स्वास्थ्य, रोजगार, प्रजनन् जस्ता आधारभूत तहमा महिलाहरुको सम्मानजनक समान उपस्थिति राज्यले इमान्दारिता पूर्वक गराउन सक्दैन । “हाम्रो आन्दोलन जारी छ ।”

(अधिकारी तात्कालीन नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालकी केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख हुन्)