तुलसीपुर–नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवादले नेपालको राष्ट्रियता संकटमा परेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो बताएका हुन् । निर्वाचनअघिको राष्ट्रवादले एमालेलाई भोट बढाएको र पछिको राष्ट्रवादको नाराले नेपाली सुरक्षा निकायलाई निरिह बनाई भारतीय सेनालाई नेपालमा परेट खेलाएको आरोप लगाए ।


ADVERTISEMENT


उनले राष्ट्रवादको नारा देखावटी नभई परिणममुखी हुनुपर्ने बताए । शर्माले ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणको निहुमा भारतीय सेनाहरु नेपाल भित्राएर राष्ट्रवादलाई संकटमा पारेको आरोप लगाए । राष्ट्रवादको नाराले भारतीय सेनाले नेपालमा परेट खेलेको उनको आरोप छ । सुशील कोइरालाले राष्ट्रवाद देखाउँदा नेपालमा संविधान बन्यो, शेरबहादुरले कार्यान्वयन गर्न तत्परता देखाउनु भयो, शर्माले भने, तर ओलीको राष्ट्रवादले चुनाव अघि एमालेको भोट बढायो, पछि भारतीय सेनालाई नेपालमा ल्याएर परेट खेलायो र राष्ट्रियता संकटमा पारियो ।’


ADVERTISEMENT

# # #


उनले माओवादी एमालेको एकीकरण गरेर निर्माण भएको कम्युनिष्ट पार्टीले नेताहरुमा अहंकारको भावना देखिएको भन्दै अहंकार नदेखाउन चेतावनी दिए । शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढी महत्वाकांक्षी भएको टिप्पणी गरे । ‘वर्तमान सरकारको बजेट वायुपंखी घोडाको नारा, वयलगाडाको पारा जस्तै छ’ उनले भने, लक्ष्य अनुसारको वृद्धि गर्न निजी क्षेत्रलाई महत्व दिनुपर्छ तर नीजि क्षेत्रलाई बजेटले समेट्न सकेको छैन ।’

शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाएसम्म बजेटको लक्ष्य पूरा हुन कठिन भएको बताए । ‘करको दर बढाउने होइन, दर भन्दा दायरा बढाउनु उपयुक्त हुन्छ’ उनले भने । प्रवक्ता शर्माले अहिले वामपन्थीहरुको दुईतिहाइ बहुमतको सरकार गठन भएकाले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र सरकारको कमजोरी औल्याएर सहयोग गर्ने जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताए ।

कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै अब काग्रेस पुर्नसंरचनाको बाटोमा गएको बताए । त्यसै अभियान अनुरुप अहिले सबै नेताहरु देश दौडाहामा लागिरहेको उनले जानकारी दिए । शर्माले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा पनि पार्टीमा पुर्नसंरचना हुन नसक्नुका कारण निर्वाचनमा समेत केही जटिल समस्या देखिएको भन्दै आउँंदो भदौ महिनाभित्रै पार्टी नयाँ शिराबाट अघि बढ्ने बताए ।