काठमाडौँ(रासस)–प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान भएकी छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरेका छन् । उनले भने, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।”


ADVERTISEMENT

# # #


हिमाल आरोहणमा कहिले पनि लापर्वाही गर्न नहुने उनको भनाइ थियो । “हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन, स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन, स्वास्थ्य ठीक भएपछि वा जोखिम घटेपछि पुनःआरोहणको प्रयास गर्नुपर्छ, सफलता पाइन्छ,”, उनले भने ।

उनले आफूलाई सगरमाथा आरोहणको रहर भए पनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको कारण स्वास्थ्य स्थिति नाजुक भई चढ्न नसकेको बताएका छन् । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत जीवन, जेल जीवनले पाइन, जब जेलबाट छुटेँ, पछि कमजोर स्वास्थ्यले दिएन”, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले पनि उनीहरुलाई सम्मान गरेका थिए । सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ र कल्पना महर्जन रहेका छन् । प्रियालक्ष्मी कार्की भने स्वास्थ्यको कारणले सात हजार मिटरबाट फर्केकी थिइन् ।