काठमाडौं(रासस)–राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।


ADVERTISEMENT


गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताएकी छन् । सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”


ADVERTISEMENT

# # #


उपराष्ट्रपतिको शुभकामना
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते भएका योद्धाको स्वाथ्यलाभको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्व नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गरेका छन् ।

सभामुखको शुभकामना
सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै योगदानको सम्मान गरिने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बनाउने बताएका छन् ।

“हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ’ सन्देशमा भनिएको छ, “देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन सके वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

देउवाको शुभकामना
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश दिँदै देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्र दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भनी शुभकामना पनि दिएका छन् ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीको शुभकामना
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले एघारौं गणतन्त्र दिवसका उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवसका अवसरमा जारी सन्देशमा उनले लोकतन्त्रको मूलमन्त्र नागरिक सर्वोच्चता भएको उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन र सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास राज्यको प्रमुख लक्ष्य र गन्तव्य बनेको उल्लेख गर्दै समृद्धिको सपना चाहँदैमा स्वतः यथार्थमा रुपान्तरित हुन नसक्ने रहेछ भन्ने विगतको अनुभवलाई हेक्का राख्न सुझाव दिएका छन् ।

सन्देशमा भनिएको छ, “शासन प्रणालीको कुशल व्यवस्थापन र सञ्चालन, जनताको राष्ट्रप्रतिको प्रेम र समर्पण एवं सिंगो राष्ट्रको कटिबद्धता र प्रतिबद्धता भएमा समृद्ध राष्ट्रको परिकल्पना साकार पार्न पनि सफल हुनेछौँ भन्नेमा विश्वस्त हुन सकिन्छ ।”