श्रमजिवी पत्रकारका हकहितका लागि आवाज उठाउँदै आइरहेको नेपाल प्रेस युनियन अहिले नयाँ नेतृत्व चयनको संघारमा छ । संगठनको महासचिवको रुपमा आफ्नो तीन वर्षे कार्यकाल सकाएर फर्किन लागेका अजय सिवाकोटीसंग हिमालय पोष्टले उनको कार्यकाल र अनुभव तथा युनियनको पछिल्लो गतिविधिका बारेमा उत्तर खोज्ने प्रयार गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


नेपाल प्रेस युनियनको तपाई अहिले महासचिव हुनुहुन्छ । पछिल्लो गतिविधि बताइदिनुस् न कसरी अगाडि बढिरहेको छ प्रेस युनियन ?


ADVERTISEMENT

# # #


म लगायतको टिम अहिले अहिले प्रेस युनियनमा तीन वर्ष कार्यकाल पूरा गरेर चौथो वर्षमा छौँ । थपिएको एक वर्षको अवधिमा हामी अहिले छौँ । यही एक वर्षभित्र हामीले महाधिवेशन गर्नुपर्ने थियो । तर यही बीचमा देशमा तीन चरणका चुनाव र पत्रकार महासंघको चुनाव भएपछि त्यही काममा हामी व्यस्त रह्यौँ । देश संघियतामा गएकाले संगठनलाई पनि संघियतामा लैजानका लागि थुप्रै साथीहरुलाई व्यवस्थापन गर्नुपर्ने थियो । यसले गर्दा पनि हाम्रो महाधिवेशन पछाडि सर्न पुग्यो । अब प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि हामी विधान संशोधनको तयारीमा छौँ । त्यसको लागि एउटा टिम बनाएर छलफल भइरहेको छ ।

अब महाधिवेशन कहिलेसम्म हुन्छ ? प्रेस युनियनले नयाँ नेतृत्व कहिले पाउँछ ?

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा हामी क्रियाशिल छौँ । देशैभरिका साथीहरुबाट कुरा पनि आइरहेको छ । कहिलेसम्म महाधिवेशन गर्ने भन्ने सल्लाहमा हामी छौँ । कम्तीमा हामीले भदौसम्म महाधिवेशन गर्ने भन्ने छ । वैशाखसम्म यो विधानको काम सक्छौँ भन्ने थियो । तर त्यो पूरा हुन सकेन । जेठमा राष्ट्रिय स्तरको केही भेला गरेर विधान संशोधन गर्दै त्यहीअनुसार असार र साउनभित्र शाखाहरुको अधिवेशन सकाएर भदौमा महाधिवेशन गर्न सक्छौँ भन्ने हाम्रो आन्तरिक तयारी छ । पार्टी र ट्रेड युनियन लगायतसंगको सम्वन्वयमा हामी यसको निक्र्योल गर्छौँ ।

तपाईले महासचिवको रुपमा तीन वर्ष बिताइसक्नु भएको छ । आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

हामी श्रमजिवी पत्रकारहरुको एउटा साझा संस्थाका रुपमा हामीले प्रेस युनियनलाई लिइरहेका छौँ । पोखरा महाधिवेशनबाट नेतृत्वमा आइरहँदा एउटा सक्षम प्रेस युनियन बनाउने भनेर जुन किसिमको अवधारणा ल्याएका थियौँ । त्यो अनुसार केही कामहरु भए । यही बीचमा दुई कार्यकालसम्म केन्द्रीय नेतृत्वहरुबाट बाहिर रहनु परेको प्रेस युनियन यो पटक उपाध्यक्ष, दुई जना महासचिव र सचिवहरुसहित केन्द्रीय समितिमा बहुमत आयो । प्रेस युनियनलाई हेर्ने मानक भनेको एउटा पत्रकार महासंघ पनि हो । स्वतन्त्र प्रेस र अभिव्यक्तिको स्वतन्त्रताका आन्दोलनमा हामीले अन्य प्रतिस्पर्धीहरुभन्दा आफूलाई अब्बल सावित गरेका छौँ । यस्तै अघिल्लो पटकको भन्दा यो कार्यकालमा अन्तराष्ट्रिय फोरमहरुमा पनि हामीले आफ्नो उपस्थितिलाई वृद्धि गरेका छौँ । यस्तै देशभित्र प्रेस स्वतन्त्रताका विरुद्धमा भएका गतिविधिका विरुद्धमा पनि हामी कडा रुपमा प्रस्तुत भएका छौँ । त्यस कारण तुलनात्मक रुपमा अघिल्लो कार्यकालभन्दा धेरै राम्रो कामहरु भएका छन् ।यो सरकारले सञ्चारमाध्याममाथि लगाउन खोजेको अवरोधको संकेत हेर्दा त्यो रोक्नु हाम्रो चुनौति हुनेछ । त्यसलाई सामना गर्दै हामी अगाडी बढ्छौँ ।

अहिले अनलाइन पत्रकारिताका नाममा बेथिति बढिरहेको छ । निरन्तर यहि पेशामा लाग्ने भन्दा पनि गैरपत्रकार आएर नेपाली पत्रकारिता क्षेत्रको बदनाम भइरहेको छ भन्ने खालका आवाज उठिरहेका छन् । यी कुराहरुलाई नियमन वा नियन्त्रण गर्दै नेपाली पत्रकारितालाई मर्यादित बनाउन तपाईहरुको भूमिका अबका दिनमा के हुन्छ ?

हामी खासमा नियमनकारी निकाय त होइनौँ । तर नियमन गर्ने निकायलाई हाम्रो सुझाव सल्लाह भने अवश्य रहन्छ । दिनानुदिन इन्टरनेट प्रयोगकर्ता बढिरहेको वर्तमान अवस्थामा अनलाइनको नाममा प्रयोगकर्तालाई भ्रममा पारेर केही समयमै कमाउछु भन्ने खालको अभ्यास गरेको हामी देख्छौँ । यसले समग्र पत्रकारिता वा अनलाईन क्षेत्र नै बदनाम हुनुपर्ने अवस्था छ । तर ती धेरै समय टिक्दैनन् । जसले राम्रो सामग्री दिन्छ, जो निरन्तर काम गरिरहेका छन् तिनीहरुले नै हो पत्रकारिता बचाउने । त्यस कारण यसमा आत्तिनु पर्ने अवस्था छैन । तर अवान्छित खालका अनलाईहरुलाई र अन्य राम्रा अनलाईनलाई हेर्ने दृष्टिकोणहरु भने एउटै हुनुहुँदैन । अहिले साना लगानीका अनलाईनले पनि स्वरोजगार सिर्जना गरिरहेका छन् । यसमा सबै नकारात्मक पनि छैन । पत्रकारिता पनि सुचना विभाग र प्रेस काउन्सिलमार्फत कर प्रणालीमा गएको छ । सूचना विभागमा दर्ता भएर नियमित रुपमा उसले अन्तशुल्क कर बुझाएको अवस्थामा सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापन पनि समान रुपमा उपलब्ध गराउनुपर्छ ।

सम्पूर्ण श्रमजिवी पत्रकारहरुको हक र हितको सुरक्षा गर्दै पत्रकारिता क्षेत्रलाई एउटा मर्यादित पेशा बनाउनका लागि यसका संगठनहरुले कसरी अगाडी बढ्नुपर्छ ?

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक लगायतका जति पनि विषयहरु छन् । यी विषयमा एक्लो पहलले केही हुनेवाला छैन । पत्रकारितासंग जोडिएका सबै संस्थाहरुसंग सहकार्य गर्नैपर्छ । कसैले समाचार लेखेकै भरमा फैजदारी अभियोग लाग्ने अवस्था सिर्जना हुँदैछ । यससंग सम्बन्धित ऐन अहिले राष्ट्रपति कार्यालयमा पुगिसकेको भन्ने कुरा आएको छ । यो हाम्रो लागि एकदमै डरलाग्दो कुरा हो । यो ऐन नल्याओस भनेर हामी सरकारलाई सचेत पनि गराउन चाहान्छौँ । स्वतन्त्र प्रेसका विरुद्धमा यदि कोही जान खोज्छ भने हामी सम्पूर्ण संघसंस्थाहरुले एक स्वरमा त्यसको प्रतिवाद गर्नैपर्छ । पत्रकारको कलमको निभ भाँच्ने काम कहीँ कतैबाट हुन्छ भने त्यसको शसक्त विरोध गर्न एकजुट हुनुपर्छ । विकास र समृद्धिका नाममा लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरु संकुचन गर्ने प्रयास गरिनु हुँदैन । यसमा हामी सचेत रहनुपर्छ ।

अब युनियनको महाधिवेशन पनि आउँदैछ । तपाईले एक पटक महासचिव भएर काम गरिसक्नु भएको छ । अबको महाधिवेशनका लागि तपाईको तयारी के छ ? कुन भूमिकामा देखिनुहुन्छ ।

यो कुरा अहिले नै भन्न हतारो होला । तर एकपटक कार्यकारी तहमा काम गरिसकेपछि साथीहरु फेरि पनि कार्यकारी स्थानमै आओस भन्ने चाहनुहुन्छ । तर अहिल्यै सोचिसकेको छैन । आइपरेको जिम्मेवारी वहन त गर्नैपर्छ । मेरो तयारी भन्दा पनि अन्य साथीहरु पनि तयारी गरिरहनुभएको छ । साथीहरुको भावनालाई कदर गर्दैै त्यसमा खरो उत्रिन म तयार छु ।

अन्त्यमा, अब आउने प्रेस युनियनको नेतृत्व कस्तो हुनुपर्छ र कसरी आउनु पर्छ ?

हामी सामुहिकतामा विश्वास गर्छौँ । त्यसले गर्दा सामूहिक नेतृत्व प्रणाली लिएर नै हामी जानुपर्छ । सामूहिकतामा जाँदा निर्णय प्रक्रियामा केही लामो पनि हुनसक्छ । तर त्यो दिगो हुन्छ । नेतृत्वमा जो आएपनि नेतृत्व चाहीँ सामूहिक हुनुपर्यो । सबैको प्रतिनिधित्व हुनुपर्छ ।