पोखरा–प्रदेश ४ को बजेट पेश भएपछि सांसदले त्यसमाथि छलफल गरिरहेका छन् । प्रतिपक्ष दलका सांसदले मात्रै होइन, सत्तापक्षकै सांसदले पनि बजेटमाथि व्यंग्य गरिरहेका छन् ।


ADVERTISEMENT


प्रतिपक्षले सतही र कनिका छरेजस्तो बजेट भनेर टिप्पणी गरिरहेका छन् भने सत्ता पक्षका सांसद पनि बजेटबाट सन्तुष्ट देखिँदैनन् । कांग्रेसका सबैजसो सांसदले बजेटलाई सतही भनेका छन् । नयाँ शक्तिका हरिशरण आचार्यले बजेटले अर्जुनदृष्टि राख्न नसकेको भनाइ राखे । उनले भने, ‘यो सम्भाव्यता अध्ययनको वक्तव्य हो, बजेट वक्तव्य होइन ।’


ADVERTISEMENT

# # #


कांग्रेसकी ओमकला गौतमले बजेट लैंगिक मैत्री नभएको बताइन् । कांग्रेसकै अर्का सांसद् प्रकाशचन्द्र दवाडीले अहिले चलिरहेका सरकारी मिडिया निजीकरण गर्ने कुरा आइरहँदा प्रदेश सरकारले रेडियो र टिभी चलाउन खोज्नु तर्कसंगत नभएको बताए ।

सांसद् विन्दुकुमार थापाले खुला अर्थनीति अवलम्बन भइरहेका बेला सरकार आफैंले व्यवसाय गर्न नहुने बताए । आफ्ना कार्यकर्तालाई खुसी पार्ने गरी कनिका छरे जस्तो बजेट ल्याइएको भन्दै विपक्षी सांसदले आलोचना गरे । बुधबार पेश भएको प्रदेश ४ को बजेटमाथि प्रतिपक्षको आलोचनापछि अर्थमन्त्री किरण गुरुङले जवाफमा वीरबल अकबरको कथा सुनाए ।

‘महाराज अकबरले दरवारमा बिरालो पालेका थिए । बिरालोलाई ओहोर–दोहोर गर्न सजिलो होस् भनेर ढोकामा अकबरले एउटा प्वाल बनाउन वीरवललाई आदेश दिए । त्यही अनुसार काम भयो । केही समयपछि बिरालोले बच्चा जन्मायो । त्यसपछि अकबरले वीरवललाई अर्को आदेश दिए, ‘बिरालाका बच्चा ओहोरदोहोर गर्न ढोकामा सानो प्वाल बनाऊ ।’

तर वीरबलले आज्ञा पालना गरेनन् । अकबरले सोधे, ‘मैले भनेको किन नमानेको ?’ वीरवलको उत्तर थियो, ‘त्यही ठूलो प्वालबाट नै साना बिराला पनि छिर्छन् महाराज, अर्को प्वाल आवश्यक छैन ।’ कथा सुनाउँदै अर्थमन्त्री गुरुङले भने, ‘सीमित बजेटमा सबैलाई यसैमा समेटिएको छ, अलग्गै प्वाल नबनाएको मात्र हो ।’

अर्थमन्त्री गुरुङले यो बजेट आर्थिक वर्ष २०७५/०७६ को आँखीझ्यालमात्रै भएको बताए । कुनै पनि कार्यक्रम कार्यकर्ता पोस्ने गरी नल्याएको अर्थमन्त्री गुरुङको भनाइ छ । ‘राजस्व उठाउन सकिएको छैन, बजेटै कनिका छ, कहाँबाट ल्याएर मैले सुनको डल्लो बाँडौं’, अर्थमन्त्री गुरुङले भने । सत्तापक्षकै सांसदले राजीव पहारीले खाउँ भने दिनभरको शिकार नखाऊ भने कान्छा बाको अनुहारजस्तो भनेर ब्यंग्य गरेका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपालीले प्रदेश नम्बर ४ मा धेरै जनजातिको बस्ती भए पनि थारुलाई सम्बोधन कतैबाट नभएको भन्दै गुनासो गरे । सांसद् दोबाटे विकले १७ प्रतिशत दलित भएको प्रदेश नम्बर ४ मा बजेट भने सन्तोषजनक नभएको बताए । माओवादीका सांसदले बजेट राम्रो भए पनि शहीद, वेपत्ताका परिवार र घाइतेका सम्बन्धमा बजेटले सम्बोधन नगरेको भन्दै सच्याउन आग्रह गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विनियोजन विधेयक सदनमा टेबल गरेका छन् । संसदको अर्को बैठक आज दिउँसो ३ बजे बस्नेछ । सरकारले बिहीबार ल्याएको बजेटको १७ प्रतिशत हिस्सा घुमाउरो पाराले सांसदले खर्च गर्ने गरी प्रस्ताव गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आफैंले योे रकम खर्च हुनेमा भने शंका व्यक्त गरेका छन् । योजना छनोट, टेन्डर प्रक्रियामा जानुपर्ने हुँदा कार्यान्वयनमा शंका उब्जेको उनको भनाइ थियो ।

बजेटमाथिको छलफलपछि सदनमा जवाफ दिँदै उनले भने, ‘सांसदहरुको माग अनुसार प्रत्येक सांसदलाई २६ लाख छुट्याएका छौं, तर कार्यविधिअनुसार खर्च गर्न सकिन्न भन्ने लागेको छ, जसले राम्रो काम गरेर खर्च गर्नुहुन्छ, बधाइको पात्र बन्नुहुन्छ ।’

प्रत्यक्ष निर्वाचित सांसदहरुलाई सडक स्तरोन्नतिमा खर्च गर्ने गरी २६–२६ लाख रुपैयाँ बजेटमार्फत विनियोजन गरिएको छ । यो प्रदेशमा ३६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । प्रदेश राजधानी वा स्थानीय तह केन्द्रसँग जोडिने सडकको स्तरोन्नतिमा खर्च गर्न सरकारले ९ करोड ३६ लाख रुपैयाँ छुट्याएको छ ।