काठमाडौं–दाङमा रहेका विभिन्न यातायात समितिहरूले आजैदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । सिण्डिकेट पक्षधर मानिएका समितिका कतिपय काउन्टर खुलेकै छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्ने कर्मचारी पनि छैनन् । कर्मचारी भएकाहरूले पनि गाडी छैन भन्दै टिकट काटेका छैनन् ।


ADVERTISEMENT


सरकारले आगामी असारदेखि समितिहरू नविकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले बिहिबारदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन् । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताए ।


ADVERTISEMENT

# # #


‘भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन् । त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौं,’ डायल इञ्चार्ज पुरीले भने । उनले सरकारको ज्यादति विरुद्ध एक भएर समितिहरू आन्दोलनमा उत्रिएको बताए । उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका कार्यक्रम अनुसार आन्दोलन गर्ने जनाए ।

त्यस्तै, अम्विकेश्वरी सार्वजनिक राप्ती यातायात व्यवसायी समितिका झग्गु भण्डारीले पनि आफूहरूले लामो दूरीमा सञ्चालन हुने गाडी बिहिबारदेखि चलाउन छोडेको बताए । भोलिदेखि हुने आन्दोलनलाई सफल तुल्याउन गाडी नपठाउनु भन्ने निर्देशन बमोजिम गाडी रोकेको उनको भनाइ छ । यता, यात्रुहरू भने काउन्टरको वरिपरि गाडीको खोजीमा झुम्मिएका देखिन्थे । अर्को एक समितिका राजन डाँडीले पनि आफ्नो समितिबाट लामो दूरीका कुनै पनि गाडी नचलाएको बताए ।

‘छोटो दूरीका गाडी आफूखुसी सञ्चालनमा आएका छन् । तर, लामो दूरीका गाडीको टिकट भने हामीले काटेका छैनौं,’ डाँगीले भने । त्यस्तै, तुलसीपुर जिप तथा माइक्रोबस बस व्यवसायी समितिले पनि आजदेखि लामो दूरीका यातायात सञ्चालनमा रोक लगाएको समितिका सदस्य रमेश रावतले जानकारी दिएका छन् ।

समितिहरूले गाडी चलाउन रोकेका भए पनि कम्पनीअन्तरगत दर्ता भएका गाडीहरू भने चलिरहेका छन् । दाङमा समितिअन्तरगत करिब ६ सय गाडी छन् ।