काठमाडौं–भारतको बिहारको जहानाबादमा एक किशोरीलाई जबर्जस्ती नग्न बनाउँदै गरेको भिडियो भाइरल भएपछि पुलिसले यसमा संलग्न चारजनालाई पक्राउ गरेको छ । सोमबार बिहार पुलिसले पत्रकार सम्मेलनमार्फत सो कुराको पुष्टि गरेको हो ।


ADVERTISEMENT


पटना जोनका पुलिस महानिरिक्षक (आइजी) नेयर हसनेन खानले पत्रकार सम्मेलनमा गत अप्रिल २८ तारिखमा भिडियो भेटेपछि थालिएको अनुसन्धानमा एक किशोरसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सोधपुछको क्रममा पीडित एक किशोरी भएको पत्ता लागेपनि उनले अहिलेसम्म पुलिससँग सम्पर्क नगरेको बीबीसीले बताएको छ ।

भाइरल भएको भिडियोमा केही युवकले जबर्जस्ती एक किशोरीको कपडा फुकालिरहेका छन्, किशोरी भने संघर्ष गरिरहेकी छिन् र वरिपरि उभिएका थुप्रै युवक हाँसिरहेका छन् ।

भिडियो फैलाउनु पनि अपराधः
पुलिसका अनुसार भिडियोमा एक मोटरसाइकल पनि देखिएको छ जसले आरोपीलाई खोजी गर्न मद्दत गर्यो । नेयरले यो मामलामा एक मोटरसाइकल पनि बरामद गरेको जानकारी दिएका छन् ।

नेयर भन्छन्, ‘उक्त मोटरसाइल आरोपीको हो वा अन्य व्यक्तिको वा यसको पीडित किशोरीसँग कुनै सम्बन्ध छ/छैन भन्ने बारे पक्राउ परेका आरोपितलाई सोधपुछपछि थाहा हुन्छ ।’

उक्त भिडियोमा रमिते पनि देखिएका छन् जसले उक्त घटना रोक्ने कोसिससमेत नगरेको देखिन्छ । नेयरका अनुसार उक्त मिडियो प्रसारण गर्नु पनि अपराध हो ।