काठमाडौं–सांस्कृतिक र पुरातात्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन । बन्द तर मक्किँदै गएका झ्याल–ढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको छनक पाइन्थ्यो । उप्किँदै गएको पर्खाल र केही भित्ताको आंशिक भागमा भर्खरै नयाँ माटोले लिपिएजस्तै तह देखियो । र, सोधियो, ‘दरबार कसले स्याहार्दै छ ? ’


ADVERTISEMENT


सोधखोज गर्दै जाँदा थाहा लाग्यो, झन्डै ६ सय वर्ष पुरानो यो ऐतिहासिक दरबारको बाहिरी भाग एउटा गैरसरकारी संस्थाले आफूखुसी पुनर्निर्माण गर्दै रहेछ ।


ADVERTISEMENT

# # #


राज्यका कुनै पनि आधिकारिक निकायलाई थाहै नदिई भइरहेको यस्तो पुनर्निर्माणले दरबारको मौलिकता नै जोखिममा पारिरहेको छ ।

‘एकातिर सरकारी निकायको बेवास्ता र अर्कोतिर पुनर्निर्माणका नाउँमा गैससको लापरबाहीले दरबारको परम्परागत सौन्दर्य र यसको साखप्रति व्यंग्य गरिरहेजस्तो लाग्यो’ संस्कृतिविद् मदन रिमाल भन्छन्, ‘राज्यको प्रतिनिधित्वबिना कुनै पनि सम्पदा चलाउन मिल्दैन । दरबारको पुनर्निर्माण पुरातात्विक विभागले जिम्मेवारी लिनुपर्छ ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि दरबारको पुनर्निर्माण विषयमा आफूहरूलाई कुनै जानकारी नभएको र कुनै पनि संस्थाले यसको अनुमति नलिएको बताए । उनले भने, ‘पुनर्निर्माण भइरहेको भन्ने कुनै रेकर्ड हामीकहाँ छैन । तर, यस विषयमा बुझ्न भने सकिन्छ ।’ – आजको अन्नपुर्ण पोष्टबाट