काठमाडौं–वन विभागमातहतका निकायमा राखिएको काठको कुनै हिसाबकिताब नै नभएको पाइएको छ । राष्ट्रिय वनलगायत विभिन्न वनबाट काटिएको १३ लाख नौ हजार घनफिट काठ कहाँ गयो भन्ने विषयमा मन्त्रालयका कर्मचारी नै अनभिज्ञ छन् ।


ADVERTISEMENT


अहिलेको बजार भाउअनुसार प्रति घनमिटर ५५ सय क्युफिटका आधारमा १३ लाख नौ हजार घनफिटको मूल्य सात अर्ब १९ करोड ९५ लाख रुपैयाँ हुन्छ । तर, त्यो काठ कति कहाँ छ, कुन हालतमा छ ? कुनै यथार्थ विवरण नभएको वन विभागका एक कर्मचारीले बताए । ‘काठको हिसाब कागजमा देखिन्छ, तर यथार्थ रूपमा काठ कहाँ कस्तो अवस्थामा छ भन्ने विवरण पाउन गाह्रो छ,’ ती कर्मचारीले भने, ‘धेरै समय काठ स्टकमा हुँदा मक्किने, चोरी हुनेजस्ता कारण यथार्थ विवरण हुँदैन ।’


ADVERTISEMENT

# # #


काटिएको काठमा ए, बी र सी ग्रेड तोकिने गरे पनि विभागले यस्तो व्यवस्थासमेत नगरेको पाइएको छ । कुन प्रकृतिको काठ कुन हालतमा छ भन्ने विभागलाई जानकारी छैन । वन विभागले काठ काटेपछि जिल्ला वन कार्यालय र जिल्ला वन पैदावार आपूर्ति समितिमा राख्ने व्यवस्था छ । यसरी काटेको काठ टिम्बर कर्पोरेसनलगायत विभिन्न निकायलाई टेन्डर गरी बिक्री गरिन्छ ।

१२ वैशाख ०७२ को भूकम्पपछि ठूलो संख्यामा घर भत्किँदा काठको चरम अभाव उत्पन्न भएको थियो । तर, वन विभागले काठ अभाव भएको भन्दै समयमै पुर्‍याउन नसक्ने जवाफ दिने गरेको थियो । वन विभाग भने आफूसँग भएको काठको कुनै हिसाबकिताब नै नराखी बसेको पाइएको छ । कतिपय भूकम्पपीडित समयमै काठ नपाउँदा घर बनाउन वञ्चित भएका थिए ।

नेपालमा काठ काट्न झन्झटिलो भएपछि विदेशबाट काठ र काठजन्य सामग्रीको आयात हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्षमा साढे चार अर्बको काठ आयात भएको थियो । नेपालले ३६ भन्दा धेरै देशबाट काठ र काठजन्य सामग्री आयात गर्ने गरेको छ । – आजको नयाँ पत्रिकाबाट