काठमाडौँ– अन्तरपार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउन माग गरेको छ ।
सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भए पनि ५० प्रतिशत पुर्याउनुपर्ने बताइन्।
उनले भनिन्, “संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व हुने भने पनि निर्वाचनमा दुई पार्टी मिल्दा दुवै पार्टीले उम्मेदवार पुरुष उठाउँदा महिलाको सिट नपुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।”
अध्यक्ष यादवले देशको नीति, निर्णय गर्ने ठाउँमा महिलालाई समावेश नगर्दा महिलाको अधिकार गुम्ने खतरा बढेर गएको बताइन् । सञ्जालकी महासचिव यशोधा सुवेदीले स्थानीय तहको निर्वाचनमा दलित महिलालाई अनिवार्य रुपमा उठ्न पाउने व्यवस्था गरे पनि दलित नभएको ठाउँमा अरु महिला उठ्न पाउनुपर्ने माग गरिन्।
महिलाको अधिकारलाई लागि लड्दै आएको सञ्जालमा हाल विभिन्न १० राजनीतिक दलका महिला आबद्ध छन् ।