काठमाडौं–इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजय लक्ष्य दिएको थियो जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT


यो जितको श्रेय कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुलाई दिन सकिन्छ । किनकी धोनीले नटआउट ७० र रायडुले ८२ रनको योगदान गरे । दुवैले पाँचौ विकेटका लागि १०१ रनको साझेदारी गरे । चेन्नाईको चार विकेट नौ ओभरमा ७४ रनमा खसिसकेको थियो । रायडूले ५३ बलमा तीन चौका र आठ छक्काको मद्दतमा ८२ रन बनाए । तर, उनी १८ औं ओभरमा रन आउट भए ।


ADVERTISEMENT

# # #


महेन्द्र सिंह धोनीले ३४ बल सामना गरे । उनले सात छक्का र एक चौकाको मद्दतमा अविजित ७० रन जोडे । सुरुदेखि नै आक्रामक खेलेका धोनीले १२ ओभरमा ब्याट परिवर्तन गरे । त्यतिबेला चेन्नाईलाई जितका लागि ४८ बलमा १०५ रन आवश्यक थियो ।

अन्तिम ओभरमा १६ रन आवश्यक परेको बेला ड्वेन ब्राभोले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिए । चौथो बलमा धोनीले छक्का हानेर जित दिलाए । उनी प्लेयर अफ दि म्याच भए ।बलिङतर्फ युजवेन्द्र चहलले २ तथा उमेश यादव र पवन नेगीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । बैंग्लोरका लागि एविडिविलियर्सले ३० बलमा आठ छक्का र दुई चौकाको मद्दतमा ६८ रन बनाएका थिए ।

यसैगरी डी ककले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५३ रन बनाए । अन्तिममा मन्दिप सिंहले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३२ रन बनाउँदै २०५ रनको स्कोरसम्म पुर्याए । बलिङतर्फ चेन्नाइका इमरान ताहिर, शार्दुल ठाकुर र ड्वान व्राभोले २–२ विकेट लिए ।

यो जितसँगै चेन्नाई १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने बैंग्लोर छैठौं स्थानमा छ । समान १० अंक बटुलेको किंग्स इलाभेन पन्जाब कम नेट रन रेट भएकाले दोस्रो स्थानमा छ । सनराइजर्स हैदरावाद ८ अंकसहित तेस्रो स्थानमा छ ।