काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य कूलबहादुर गुरुङले  गत ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा  सभापति शेरबहादुर देउवालाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।


ADVERTISEMENT


जारी केन्द्रीय समितिको बैठकमा आफ्नो लिखित धारणा राख्दै  गुरुङले सभापतिको हसियतमा देउवाले २६ महिनाको बीचमा खेलेको भूमिकाप्रति कटाक्ष  गर्दै उनलाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरीत विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षति लगायतको कार्यबाट १३ औँ महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावका बसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु’, उनले भनेका छन्, ‘ अतहः मैले देउवाजीलाई १३ औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्बाह नराखी मैले १३ औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपुर्वक सुनाउँदछु । ’

१३ औँ महाधिवेशनमा आफूसहित  देशभरका महाधिवेशन प्रतिनिधिहरूले विश्वासका साथ मत दिएर सभापतिमा देउवा विजयी भएको भएपनि उनले त्यसको सम्मान गर्न नसकेको  समेत उनले आरोप लगाएका छन् ।

कांग्रेस आफ्नो लामो इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको बताउँदै उनले  स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ती र कमजोरीहरूलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसंग पराजय भोग्नु परेको समेत बताएका छन्।

उनले भनेका छन्, ‘ निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  जगत्मा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर रहेको छ ।’