काठमाडौं–किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT


आइपिएलको जारी ११ औँ संस्करणमा पञ्जावको तीन खेलमा यो दोस्रो जित हो भने चेन्नईको तीन खेलमा पहिलो हार हो । सनराइजर्स हैदरावाद ६ अंकसहित शीर्षस्थान छ भने चेन्नई, पन्जाब र राजस्थान रोयल्सको समान ४ अंक छ । टिमका लागि कप्तानी इनिङ्स खेलेका धोनीले अविजित रहँदै ७९ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।


ADVERTISEMENT

# # #


४४ बल खेलेका धोनीले ६ चौका ५ छक्काका साथ ७९ रन जोडेका हुन् । यस्तै अम्बाटी रायडुले ४९ रन जोड्दा ओपनर शेन वाट्सनले र मुरली विजयले १२/१२ रन जोडे । रविन्द्र जडेजाले १९ रन बनाएका थिए । चेन्नईलाई रोक्न पञ्जाबका एन्ड्रयू टेले २, मोहित शर्मा र रविचन्द्रन आविश्नले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । पहिलो विकेटका लागि लोकेश राहुल र क्रिस गेलले ९६ रनको साझेदारी गर्दै टोलीलाई मजबुत सुरुआत दिलाएका थिए । गेलले आक्रमण खेल्दै ३३ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६३ बल जोडे ।

अर्का ओपनर लोकेशले ३७ रन बनाए । मयंक अग्रवालले ३० तथा करुण नायरले २९ रन जोडे । युवराज सिंहले २० रन जोड्दा कप्तान रविचन्द्रन आश्विनले १४ रन जोडेका थिए ।

चेन्नईका लागि सर्दुल ठाकुर र इमरान ताहिरले समान २, दीपक चाहर, हरभजन सिंह, सेन वाट्सन र ड्वान ब्राभोले समान १ विकेट लिए । यसअघि आइतबार नै भएको अर्को खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले हराएको थियो ।

आइपिएलमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुनेछ । समान खेलबाट दुबै टिमले २–२ अंक जोडेका छन् । नेपाली युवा स्पिनर सन्दिनले यसअघिका तीनै खेलमा मौका पाएका थिएनन् ।