एजेन्सी–एशियाका धेरैजसो देशका मानिसहरुले गोरो छालालाई सुन्दरताको प्रतिक मान्छन् । गोरो रंग पाउनका लागि कसैले फेयरनेस क्रिमको प्रयोग गर्दछन् भने कतिले विभिन्न तरिका अपनाउँछन् । गोरो रंग पाउनका निम्ती मानिसहरु विभिन्न काम गर्ने गर्दछन् । यस्तै अचम्मको एक घटना सार्वजनिक भएको छ ।


ADVERTISEMENT


भारतको भोपालमा एक आमाले आफ्ना पाँच वर्षीय छोरालाई गोरो बनाउनका लागि ढुङ्गाले रगडेकी छिन् । बालकलाई ती महिलाले उत्तराखण्डबाट धर्मपुत्रको रुपमा स्विकार गरेको बताइन्छ । यद्यपी, उनलाई घरमा ल्याएदेखि ती महिलालाई बालकको छालाको रंग चित्त नबुझेको र बालकको छाला गोरो बनाउन विभिन्न तरिका अपनाएको बताइएको छ ।


ADVERTISEMENT

# # #


यसैक्रममा एक वर्ष अघि एक महिलाले बालकलाई कालो ढुङ्गाले रगड्दा गोरो हुने सल्लाह दिएपछि उनले त्यसो गर्न थालेको भारतीय समाचार माध्यमले बताएको छ । ती महिलाकी भतिजीले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् । एक वर्षदेखि आफ्ना भाइलाई दिएको तनाव हेर्न नसकेर शोभना शर्माले निशातपुरा पुलिसलाई खबर गरेको बताइन् । एक हप्ताअघि ती बालकलाई उद्धार गरिएको बताइएको छ ।

आरोपी सुधा तिवारी सरकारी विद्यालयकी शिक्षिका हुन् । उनका श्रीमान् एक नीजि कम्पनीमा कार्यरत छन् । यी दुईले मातृछाया नामक अनाथालयबाट ती बालक ल्याएका हुन् ।

शोभनाले टाइम्स अफ इन्डियालाई भनिन्, ‘बच्चालाई भोपाल ल्याएदेखि नै मेरी आन्टीलाई छोराको रंग मनपरेको थिएन । त्यसकारण उनले विभिन्न तरिका अपनाउन थालिन् । एक वर्षअघि एक महिलाले कालो ढुङ्गाले रगटे बच्चाको छाला गोरो हुने बताएपछि उनले त्यसो गर्न थालिन् । बच्चाको पाखुरा, कुम, पिठ्युँ र खुट्टामा ठूलै चोट लागेको छ ।’