काठमाडौँ– रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौँ गोल्डेन्स प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सन्नी पटेलको उत्कृष्ट बलिङ र सुबोध भाटीको आक्रामक ब्याटिङको मदतमा काठमाडौँले महेन्द्रनगर युनाइटेडलाई सहजै पार लगाएको हो ।


ADVERTISEMENT


प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा महेन्द्रनगर युनाइटेडले दिएको १४३ रनको लक्ष्य काठमाडौँले ५ विकेटको क्षतीमा १८.२ ओभरमा पूरा गर्यो । काठमाडौँका लागि आक्रामक पारी खेलेका सुवोत्र भाटीले १७ बलमा नै ५२ रन बनाएपछि जित सहज बनेको थियो ।


ADVERTISEMENT

# # #


यसअघि टस हारेर महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनायो । ५ ओभर खेल्दा १० रनमा ६ विकेट गुमाएर नाजुक अवस्थामा पुगेको महेन्द्रनगरलाई पुनित महेराले ४२ बलमा ५८ रन र आरिफ शेखले ३९ बलमा ४३ रन बनाएर उकासेका थिए ।

यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए ।

महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए । आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए ।

काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो । उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने ।

पुष्प थापा र सुबोथ भाटीले १/१ विकेट लिए ।

यता काठमाडौँका लागि सुबोध भाटीले १८ बल खेलेर ५ छक्का र ४ चौका प्रहार गर्दै ५२ रन बनाए । यस्तै अमित श्रेष्ठले २६ र भूपेन्द्र थापाले १५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यस्तै नरेश बुढाऐर ७ र सन्नी पटेल ५ रनमा नटआउट रहे ।

यता महेन्द्रनगरका लागि पुनित मेहराले २ विकेट लिँदा भुवन कार्की, पुनित बिष्ट र रविन क्षेत्रीका नाममा समान १/१ विकेट रह्यो ।
काठमाडौले अब भोली उपाधीका लागि टिम चौराहा धनगढीसंग प्रतिस्पर्धा गर्नेछ ।