काठमाडौँ–पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतको गाडी सर्वोच्च अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका छन् ।


ADVERTISEMENT


बिहिबार सर्वोच्च अदालत परिसरमा इन्धन र मर्मत खर्च लिन पुगेका श्रेष्ठका सवारीचालक जोगमन महतोबाट गाडी र चाबी नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजनप्रसाद भट्टराईलाई बुझाइएको सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पूर्व विशिष्टहरुले आफु खुशी सवारीसाधन, सवारीचालक, इन्धन र मर्मत खर्च लिएकोबारे पत्रपत्रिकामा यसअघि समाचार प्रकाशित भएको थियो । सर्वोच्च अदालत आफैले कानून बनाएर मात्रै पूर्व विशिष्टहरुलाई सेवा सुविधा उपलब्ध गराउनु भनेपनि पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतबाट विभिन्न सेवा र सुविधा लिइरहेका थिए ।

‘कानुन नै नभई मौखिक आदेशका भरमा विभिन्न सुविधा लिएपछि त्यसको बिरोध गर्दै आज पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्ने बा १३ च ६२४१ नम्बरको सवारीसाधनको चाबी र चालक जोगमन महतोलाई हामीले मुख्य रजिष्टारको जिम्मा लगाएका छौँ, भट्टराईले भने, ‘पूर्व विशिष्टलाई दिइएको गैरकानुनी सेवा सुविधा तत्काल फिर्ता गर्न र चालक तथा कर्मचारीलाई फिर्ता ल्याउन हामीले मुख्य रजिष्टारको ध्यानाकर्षण गराएका छौँ ।’

उनले यो सुरुवातमात्रै भएकाले पूर्व माननीयहरुले प्रयोग गरेका गैरकानुनी सुविधा खोस्न आन्दोलनको तयारी गरिएको पनि बताए ।