तेह्रथुम– गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पुर्याएको छ ।


ADVERTISEMENT


मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई लक्षित गरी पम्पिङ प्रणालीबाट खानेपानी उपलब्ध गराइएको हो । सङ्खुवासभा र तेह्रथुमको सिमास्थित सो पाथीभरा मन्दिर परिसरमा यसअघि हावाबाट पानी जम्मा हुने प्रविधि जडान गरी खानेपानी उपलब्ध गराइएको थियो । तर सो प्रविधि बिग्रिएर खानेपानीको समस्या भएपछि जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयले पम्पिङ प्रणालीबाट पानी तानेर खानेपानी पुर्याएको हो ।


ADVERTISEMENT

# # #


यस क्षेत्रमा यतिबेला गुराँस फुलेर डाँडाकाँडा सबै राताम्मे छन् । एकै ठाउँमा २८ प्रजातिका गुराँस अवलोकन गर्न पाउने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिन्छ । गुराँस हेर्न आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटकले तीनजुरेस्थित पाथीभरा मन्दिरको दर्शन गर्छन् । मन्दिरमा दर्शन गरे ताप्लेजुङको ठूलो पाथीभरा जानु नपर्ने कथन भएकाले पनि यहाँ धेरै भक्तजन आउँछन् ।

पानी अभावले प्रयोगविहीन रहेका यहाँका ट्याङ्की, धारा र शौचालयसमेत प्रयोगमा आएका छन् । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु १७ लाख र मन्दिर संरक्षण समितिको रु एक लाख लगानीमा गरी कुल रु १८ लाखको लागतमा खानेपानी पुर्याइएको मन्दिर संरक्षण समितिले जनाएको छ । खानेपानीको सुविधा भएपछि पर्यटकले वसन्तपुरदेखिनै पानी बोकेर जानुपर्ने बाध्यता हटेको छ । खानेपानीको सुविधा उपलब्ध भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिलेको घुर्मिसेका डिकबहादुर पौडेलले बताए।
उच्च क्षेत्र भए पनि पछिल्ला वर्षमा पानीका मुहान सुक्न थालेकाले समस्या भएको घुर्मिसेका व्यापारी युवराज खड्काले बताए । “यो पदमार्ग भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउँछन् । तीमध्ये सबैजसो पाथीभरा मन्दिरको दर्शन गरेरै जान्छन्, व्यापारी खड्काले भने ।

यहाँ रहेको पाथीभरा मन्दिरमा ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित गरिएको स्थानीयको दाबी छ । यस पटक पनि नयाँ वर्षसँगै आउने पर्यटकको घुइँचो लागिरहेको स्थानीय दावा शेर्पाले बताए।