जाजरकोट–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले जाजरकोटका जनप्रतिनिधिलाई राजीनामा गर्न उर्दी जारी गरेको छ । भेरी–कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिष्दको लेटर प्याडमा पत्र काट्दै राजीनामाको माग गरिएको हो ।


ADVERTISEMENT


जिल्ला जनपरिषदका अध्यक्ष हरिचन्द्र जैसी अनुकूलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सिंहदरबारदेखि स्थानीय गाउँ टोलसम्म भष्टाचारी, कालोबजारी तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतङ्क तपार्इँ र तपाईँको सरकारको प्राथमिकतामा रहेको स्पष्ट छ । आफैँ सरकार प्रमुख, आफैँ ठेकेदार र आफै व्यवसायी तपाईँहरूको चरित्र हो । यस्तो अवस्थामा जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको छ ।’


ADVERTISEMENT

# # #


‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधीनता, सामाजिक सुरक्षासहितको विकास र समृद्धिको आधार तय गर्नका लागि तपाईँले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौँ । अन्याथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईँ आफै हुनु पर्नेछ’, पत्रमा अगाडि भनिएको छ ।

नेकपाले गठन गरेको जिल्ला जनपरिषद्ले जाजरकोटका सात ओटै तहका प्रमुखहरूलाई पत्र लेखेर राजीनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला इन्चार्ज प्रेम बलि धमिलाले बताए । उनले वडास्तरका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाएर जनसरकार चलाउने गरी देशैभर अभियान थाल्ने योजना रहेको बताए । नेकपाले अहिले जनसरकार र जनअदालत स्थापना गरेर काम थालिसकेका छन् ।

उनीहरूले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीलाई राजीनामा गर्न लिखित पत्र बुझाएका हुन् ।

राजीनामाको पत्र आएसँगै स्थानीय तहका जनप्रतिनिधि असुरक्षित महसुस गर्न थालेका छन् । उनीहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् । तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको जनयुद्धको झल्को दिने गरी काटिएको पत्रले जनप्रतिनिधि त्रसित बनेका छन् ।