काठमाडौँ– भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यस अघि नै भारत भ्रमणमा जाने भनिएपनि विविध कारणले पटक/पटक उनको भ्रमण स्थगित गरिएको थियो ।

 

भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस 

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनेछिन् भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।

पाँच दिने भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यस भ्रमणसंगै राष्ट्रपति भण्डारीको विदेश भ्रमणको औपचारिक रुपमा सुरुवात हुनेछ ।