काठमाडौं–गर्मीयामको सुरुवातसँगै कैलालीको चुरे क्षेत्रका पहाडी बस्तीमा पानीको हाहाकार हुन थालेको छ । प्राकृतिक कुवा र धाराका मूल सुक्दै गएपछि पानीकै लागि घण्टौं हिंड्नुपर्ने बाध्यता छ । चुरे गाउँपालिका अन्तर्गतका साबिकका ५ गाउँ विकास समितिमा यस्तो हाहाकार भएको हो । पानीको समस्याले कतिपय बस्ती सरेका छन् । स्थानीय बसाइँ सराइ गरेर हिंड्न थालेपछि बस्ती उजाडिएका छन् ।


ADVERTISEMENT


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका इन्जिनियर गणेश उपाध्यायका अनुसार चुरेमाथिका मात्र नभएर फेंदीका बस्तीमा पनि पानीको अभाव छ । चुरे गाउँपालिका–३ फल्लेबिसौना खानेपानी योजनाको मूल सुकेको छ । ‘गत वर्ष ३० लाखको योजनाबाट ३५ धारा सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अहिले मूल नै सुकिसक्यो ।’


ADVERTISEMENT

# # #


चुरे फेंदीको बस्ती गाजरीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण पूरा भएको गाजरी खानेपानी योजनाको पनि मूल सुकेको छ । ‘यहाँ जमिनको पानी तानेर ओभरहेड ट्यांकीबाट खानेपानी पुर्‍याउने गरी पुनः सञ्चालनको तयारी गरिरहेका छौं,’ इन्जिनियर उपाध्यायले भने ।

यस्तै चुरे गाउँपालिकाभित्रका ४ वटा अन्य योजनामा समेत पानीको मूल सुकेको छ । ‘भूक्षय, पहिरो, वन विनाशलगायत कारणले चुरेमा पानीको मूल सुक्दै गएका छन्,’ उनले भने, ‘चुरेको प्राकृतिक सम्पदाको संरक्षणबिना चुरे बस्तीको भविष्य संकटमा पर्ने निश्चित छ ।’ फागुनदेखि सुक्दै जाने र वर्षात सुरु नभएसम्म पानीका मूल फुटैन । गर्मीयामका ३ महिना पानीका प्रायः सबै मूल सुक्ने गरेको श्रीपुर चण्डेश्वरीका हरिसिंह साउदले बताए । ‘वर्षात सुरु भएपछि मात्र मूल फुट्छन् ।–आजको कान्तिपुरबाट