गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा धनजनको क्षति भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले रसुवा विपद्का घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए । मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।
हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको उनले बताए । मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्दार गनिले बताए । उनले सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको उल्लेख गरे । उनले विपद्का घटनामा परेका नागरिकका परिवारलाई उचित राहत प्रदान गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै गृहमन्त्री लेखकले भिजिट भिसाका विषयमा रास्वपाले अलि बढी नै अनावश्यक विषय उठान गरेको बताए । उनले केही वर्ष अगाडि रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको सुनेको भन्दै भिजिट भिसामा अमेरिका गएको हो कि होइन ? जानकारी गराउन आग्रह गरे । भिजिट भिसामा अमेरिका गएर त्यहीको नागरिकता लिएको भए भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताको कार्यकर्ताहरुले अर्कोलाई धेरै नैतिकताको कुरा पढाउनुहुन्छ कि हुँदैन ? भन्दै उनले प्रश्न समेत गरे ।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीको औपचारिक स्पेन भ्रमणका बिषयमा रास्वपाका सांसदहरुले अनावश्यक चर्चा चलाएको जिकिर गरे ।