काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि सोमबार बिहान बालुवाटार पुगेका छन्।
देउवासँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि बालुवाटार पुगेका छन्। एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छलफलमा सहभागिता जनाएका छन्।
यसअघि आइतबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले नेकपा एमालेसँगको वर्तमान सहकार्यलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो।
तर, सरकारको कार्यगत प्रभावकारिता कमजोर रहेको भन्दै बैठकमा तीव्र असन्तोष व्यक्त गरिएको थियो। सातबुँदे सहमतिको कार्यान्वयनमा ढिलासुस्ती भएकोप्रति कांग्रेसभित्र व्यापक आलोचना उठेको छ।
बालुवाटारमा जारी छलफलमा सहकार्यको समीक्षा, सरकारको गति, तथा आगामी रणनीतिबारे केन्द्रीत छलफल हुने अनुमान गरिएको छ।