दमौली (तनहुँ) – जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकामा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।


ADVERTISEMENT


कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि गत जेठ ३० गतेदेखि बिहान ७ बजेदेखि सेवा प्रवाह गर्न थालिएको थियो । सेवाग्राही न्यून भएपछि कार्यालयले आइतबारदेखि उक्त समयमा सेवा बन्द गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा सुरु गरे पनि सेवाग्राही नियमित समयमा नै आउने भएपछि बिहान १० बजेदेखि पूर्ववत् अवस्थामा सेवा दिन थालिएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


यहाँ केही दिनदेखि दैनिक औसतमा ४२ जना नागरिकता र ११७ राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । विगतमा दैनिक १०० भन्दाबढी नागरिकता र २०० भन्दाबढी राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका थिए । कतिपय सेवाग्राही बिहानदेखि नै कार्यालयको मूलढाकोमा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहानी सेवा प्रवाह सञ्चालन गरिएको थियो ।