काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरुको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशिलता प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताए । यस्ता कार्य सरकारले मात्रै नभइ निजी क्षेत्र, शैक्षिक क्षेत्र, बित्तिय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उनले जोड दिए ।
उपराष्ट्रपति यादवले युवाहरुलाई व्यवसाय सुरु गर्न आवश्यक पूँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राखे । उनले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताए । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ पनि सबैको ध्यान जानुपर्ने उनले बताए ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाएपनि पुँजी प्रवाह हुन नसकेको बताए । उनले वस्तुका साथै सेवालाई समेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरुले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राज्यको सिमित स्रोत साधानका कारण युवाहरुलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौ युवाहरु विदेश जान बाध्य भएको बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गरे ।
स्वदेशमा नै केहि गर्न चाहने युवाहरुलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।