काठमाडौँ–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


मोर्चा र गठबन्धनले सरकारले आफूसँग भएका सहमति र सम्झौता विपरीत संविधान संशोधन दर्ता गराएको आरोप लगाउँदै मसाल जुलुसदेखि आमहडतालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


मोर्चा र गठबन्धनले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मधेसी, आदिवासी जनजाति, थारू, मुसलमान, दलित, सीमान्तकृतलगायत समुदायका माग सम्बोधन गरी संविधान संशोधन गरेर मात्र निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले सङ्घीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरणलगायत विगतमा प्राप्त भएका उपलब्धिको रक्षा गर्न आन्दोलनमा जान बाध्य भएको जिकिर गरे ।
संयोजक यादवले सङ्घीय संरचनालगायत विषय सम्बोधन गरी सर्वप्रथम सङ्घीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराउनुपर्ने माग गर्दै भने, “प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनुपर्दछ ।”

मोर्चा र गठबन्धनका जुलुस, आमसभा, आमहडताललगायत कार्यक्रम सार्वजनिक भएका छन् । सरकारले यही वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । निर्वाचनका लागि आयोगले यही वैशाख १६ गतेदेखि उम्मेदवारी दर्तालगायत कार्यक्रम तय गरेको छ ।

गठबन्धनले सार्वजनिक गरेका कार्यक्रम यस्ता छन् ।

५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस
७ गते लाठी र सिटी जुलुस
९ गते जनकपुर, उदयपुर, वीरगन्ज र काभ्रेमा आमसभा
१० गते विराटनगर, भैरहवा र पाल्पामा आमसभा
११ गते नेपालगन्ज, विर्तामोड र काठमाडौंमा आमसभा
१२ गते धनगढी, धरान र पोखरामा आमसभा
१३ गते गाउँ शहर मतदान केन्द्रमा लाठी जुलुस
१४गते सदरमुकाम लगायतका प्रमुख स्थानमा मसाल जुलुस
१५ गते मधेस, धरुहट र लिम्बुवान बन्द
१६ गते नेपाल बन्द
१९ गते मतदान केन्द्रमा फेरि लाठी जुलुस प्रदर्शन
२६ गते जिल्लामा मसाल जुलस प्रदर्शन
२७ गतेदेखि आमहडताल एवम् अनिश्चितकालिन बन्द
जिल्लामा पनि मतदान विथोल्न जिल्लो आफैं कार्यक्रम बनाउन सक्ने अधिकार दिइएको प्रवक्ता गुरुङले जानकारी दिए ।