काठमाडौँ– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले बजेटमा विभेद गरिएको जिल्लालाई लिज दिउँ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बजेटमा प्राथमिकतामा परेको चार–पाँच वटा भाग्यमानी जिल्लाबाहेकलाई अर्को देशमा लिजमा दिउँ भन्ने धारणा राखेका थिए ।
उनले बजेट नै नजाने जिल्लालाई किन नेपालमा राख्ने ? भन्दै प्रश्न गरेका थिए । सांसद सिंहको उक्त धारणाप्रति नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका थिए । एमाले प्रमुख सचेतक महेश बतौलाले सिंहले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गरे । देशलाई अर्को देशमा गाभिदिऔं भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए ।
त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहले संसद्मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए । सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिका प्रति प्रश्न उठाए । सभामुखले दलीय हिसावले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए ।
सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिएका थिए । त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाएका थिए । सांसद सिंहले बोल्दै गर्दा माइक काटिएपछि उनीँ रोष्टमबाट फर्किएका थिए ।