काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
पार्टी कार्यालयमा सभापति देउवा लगाएत नेता, कार्यकर्ता, शुभेच्छुक लगाएतले श्रद्धाञ्जली अर्पण गरेका थिए । कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।
कांग्रेस सभापति देउवाले मुलुकको परिवर्तनमा स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको महत्वपूर्ण योगदान रहेको बताए । संघीयताको बहसको सुरुवात गर्ने व्यक्ति नै शास्त्री भएको उनले बताए ।
यसैबीच बुधबार कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मनु भएका स्वर्गीय शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।