रौतहट- सशस्त्र प्रहरी बल, रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८३ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक एवं गणपति सन्तोषकुमार बस्नेतले गत फागुन १ देखि जेठ मसान्तसम्ममा सो रकम बराबरको अवैध समान बरामद गरेको राससलाई जानकारी दिए । सशस्त्र प्रहरी बल रौतहटले सोही अवधिमा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन जफत गरेको छ ।
“सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारीका सामान उल्लेख्य मात्रामा बरामद गरेको छ”, रौतहट सशस्त्र प्रहरी प्रमुख बस्नेतले भने, “यस अवधिमा एक थान स्कारर्पियो जिप, ५४ वटा मोटरसाइकल र चार थान साइकल र एक थान अटोरिक्सासमेत बरामद गरिएको छ ।”
यसैगरी रु ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस पनि बरामद गर्न सशस्त्र प्रहरी बल सफल भएको छ । रौतहट जिल्लामा सरमजुवा, रामपुर खाप, औरहिया, गौर र बेलविचवा गरी पाँच स्थानमा सीमावर्ती नाकासहित भन्सार कार्यालय रहेको छ ।
सशस्त्र प्रहरी बलका अनुसारपछिल्लो चार महिनामा अर्धस्वचालित पेस्तोल थान एकसहित स्रोत नखुलेको रु १० लाख ६१ नेपाली र छ लाख चार हजार ६४० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।
त्यस्तै मानव बेचबिखनको आशङ्कामा रौतहटस्थित सीमावर्ती नाकाबाट १० नेपाली महिलाको उद्धार गरेको सशस्त्र प्रहरीले ५३ किलोग्राम गाँजासमेत बरामद गरेको स्पष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल, रौतहत प्रमुख बस्नेतले हेडक्वाटर मातहतका पाँचवटै प्रहरी युनिटलाई अवैध चोरीपैठारी नियन्त्रण र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निर्देशन दिएको बताए ।