मकवानपुर — बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा ५ वटा पक्की पुल उद्घाटन गरेका छन्। यी पुलहरूको निर्माण कार्य गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट ३३ करोड ५० लाख रुपैयाँको लागतमा सम्पन्न गरेको हो।
लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माण गरिएको ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै उद्घाटन गरिएको थियो। शनिबार उद्घाटन भएका २ पुल भने ठाडोखोला र हाँडीखोला पुल हुन्। ठाडोखोला पुल ८ मिटर चौडाइ र ९० मिटर लम्बाइ भएको ३ स्पानको पुल हो, जसको निर्माण लागत ८ करोड ६७ लाख ५ हजार रुपैयाँ छ। यस्तै, हाँडीखोला पुलको लम्बाइ ३५ मिटर छ र यसको निर्माण लागत ५ करोड ३५ लाख ५१ हजार रुपैयाँ रहेको छ।
यसअघि, च्यापलखोला पुल, ट्वाङ्ग्रा खोला पुल र मसिने खोला पुल पनि उद्घाटन भइसकेका थिए। यी पुलहरूको निर्माण क्रमशः ६ करोड २८ लाख ९८ हजार, ६ करोड ४९ लाख ६० हजार, र ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य बानियाँले यी पुलहरूको महत्त्वलाई स्पष्ट गर्दै भने, “यी पुलहरूले हाँडीखोलाका कृषकहरूको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहजता ल्याउनेछन्।” उनले यस कार्यको महत्त्वलाई बृहत् सामाजिक र आर्थिक दृष्टिकोणबाट पनि हेर्नुपर्ने उल्लेख गरे। उनले भनें, “विचार अनेकन भएपनि समाजको गतिको लागि विकासमा एकता आवश्यक छ। लोकतन्त्रको स्वामित्वको लागि पनि सबैलाई एउटै स्थानमा उभिनु आवश्यक छ।”
उनले निर्वाचनको समयमा जनताको मन जितेर निर्वाचित भएपछि, जनताको कार्य साझा जिम्मेवारीका साथ गर्नुपर्ने कुरामा जोड दिए। “हामी सबैको साझा प्रयासले मात्र विकास सम्भव छ।” बानियाँले भने।
वडाध्यक्ष नकूल उप्रेतीद्वारा पुल निर्माण कार्य अघि बढाइएको सराहना गर्दै, बानियाँले पुल निर्माणको महत्त्वलाई औँल्याए र यसले स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले समाजमा आजका दिनमा “केही भएन” भन्ने धारणा बढ्दै गएको कुरा पनि जनाए, तर मनोहरी नगरपालिका यसको अपवादको रूपमा आफ्नो जिम्मेवारी निभाउँदै कार्यमा लागिपरेकोले आजको दिन सम्भव भएको उल्लेख गरे।
आखिरमा, बानियाँले आगामी समयको लागि सडक स्तरीकरण र अन्य पुलहरूको निर्माणको लागि प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए। यस पुल उद्घाटनले मनहरी गाउँपालिकाका लागि महत्त्वपूर्ण क्षण रहेको छ, जसले स्थानीयवासीहरूको यात्रा सहज बनाउन र कृषि उत्पादनको बजारीकरणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।